लन्डन(यूके): बेलायतको जनजीवन यतिबेला दखोस्रो लकडाउनको लागि असामान्य छ । यस्तो विषम परिस्थितिमा बेलायतमा रहेका नेपाली सर्जकहरूले भने समेत युद्धका विविध पक्षहरूलाई सम्झँदै आफ्नो सिर्जनामार्फत इतिहासको स्मरण गरेका छन् ।

पप्पी डेको पूर्वसन्ध्यामा शनिबार विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आयोजना गरेको युद्ध साहित्य परिचर्चा तथा युद्ध सिर्जना वाचन कार्यक्रममा तीन दर्जन बढी साहित्यकारहरूले युद्धको पीडा, पूर्खाहरूको सङ्घर्ष र मानवीय संवेदनाका पक्षमा सिर्जनाहरू वाचन गरे । पप्पी डे अथात् पूर्खाहरूको स्मृति दिवस प्रत्येक वर्षको नोभम्बर ११ तारिखमा संसारभर मनाउने गरिन्छ । प्रथम विश्वयुद्धको समापनसँगै पप्पी फूल र युद्धमा लडेका र वीरगति प्राप्त गरेका सैनिक योद्धाहरूप्रति सम्मान व्य क्त गर्न यो दिवस आरम्भ भएको हो । पप्पी फूल गहिरो निद्रा, शान्ति र युद्धको प्रतीकका रूपमा लिइन्छ । यो वर्ष पप्पी डे बुधबारका दिन परेको छ ।

जुममार्फत सम्पन्न भएको कार्यक्रममा वेल्समा रहेका साहित्यकार रक्ष राईले युद्ध साहित्यको सिद्धान्त र सौन्दर्यशास्त्रबारे चर्चा गरे । उनले युद्ध साहित्यले द्वन्द्वको कुरा मात्रै नगरेर मानवीय संवेदनाको सवाल पनि उठाउने र सुन्दर समाजको परिकल्पना गर्ने समेत बताए । हालै मात्र ‘पल्टनेको फोटो’ कथा सङ्ग्रह सार्वजनिक गरेका राईले युद्ध साहित्यमा विशेषगरी ब्रिटिस गोर्खा सैनिकमा आबद्ध र अवकाश प्राप्त गरेका साहित्यकारहरूले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे । ‘युद्ध साहित्यको सैद्धान्तिक अवधारणा विकासमा गणेश राई, नरेश काङमाङ राई, अप्जसे कान्छा, मिजास तेम्बे लगायतका सर्जकहरूको महत्वपूर्ण योगदान छ,’ उनले स्मरण गरे । राईले युद्ध साहित्यले हिंसाको मात्रै नभएर प्रेम, सद्भाव र मानवीय संवेदनाको आवश्यकताको कुरा गर्ने पनि बताए ।

puppi

पूर्खाहरूको स्मृतिमा एक मिनेट मौन धारण गरेर सुरु गरिएको कार्यक्रममा औतारी साइला र फिप्रा काइलाद्वारा लेखिएको कविता सङ्ग्रह ‘हाम्रो अतीत, हाम्रो मन’ समेत विमोचन गरिएको थियो । विमोचित पुस्तक उपर कवि गणेश पुनले समीक्षा गरे । गोर्खा ह्याट, ब्लेजर, रेजिमेन्टल पहिरन, तक्मा र पप्पी फूलम सजिएर उपस्थित भएका तीन दर्जन बढी साहित्यकारहरूले सिर्जना वाचन गरेको विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले जनाए । तीन घण्टा चलेको कार्यक्रममा लाहाङ चेम्जोङ, औतारी साइला, फिप्रा काइला, किरण चाम्लिङ, काजीमान लिम्बु, घन थापा, अहिल्या कुँवर, मोहन आचार्य जल्लाद, गोमा राना, जित बूढाथोकी, जय तामाङ, मुकेश राई, माया गुरुङ, डा. सुमाया राई, सुमल कुमार गुरुङ, नानू राई, भगवान चाम्लिङ, विश्वकाजी राई, अमित याक्थुङ्बा मिहाङ, विजय हितानले कविता सुनाए ।

त्यस्तै, सञ्जीव पारदर्शीले गजल, सेमन्त राईले गीत, भरत लोहोरुङ राई र सुरेन्द्र इङ्नामले मुक्तक वाचन गरे । नेपालका सर्जक मीन बहादुर रानाले सारङ्गी रेटेर गीत सुनाए भने बेलायतकै इङ्नामले बाँसुरी बजाएर मन्त्रमुग्ध पारे । कार्यक्रमको समीक्षा गर्दै उपाध्यक्ष थिर थापा मगरले वाचित सिर्जनाले युद्धको समयसँगै त्यसअघि र पछिको अवस्थाबारे चित्रण गरेको बताए । उनले अफगानिस्तानको युद्धलाई सम्झेर घन थापाद्वारा लेखिएको गीतलाई समेत गाएर सुनाए । युद्ध साहित्यलाई व्यापकता दिन कार्यक्रम आयोजना गरिएको अध्यक्ष हितानले औचित्यमाथि प्रकाश पार्ने क्रममा प्रष्टयाए । रेडियो हिमालयले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रम संस्थाका सचिव अमित थेवेले सञ्चालन गरेका थिए ।