विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्न निर्देशन दिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा आज आयोजित प्रदेश स्तरीय अस्पतालहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले यस्तो निर्देशन दिएका हुन् । उनले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकोले परिणाम पनि सोही अनुसार देखिनुपर्नेमा जोडदिए । उनले स्थानीयले सेवा सुलभ भएको अनुभुति गर्नुपर्ने साथै अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा पनि जनताले थाह पाउने गरि काम गर्न निर्देशन पनि दिए ।
चालु आर्थिक बर्षमा मात्र जिल्ला अस्पतालहरुलाई ७ करोड देखि ३५ करोडसम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको मन्त्री घिमिरेले बताए । पछिल्लो अढाई बर्षमा अस्पतालहरुले जनशक्ति, यन्त्र उपकरण र पूर्वाधारमा गरेको प्रगतिको समीक्षा हुन आवश्यक रहेको मन्त्री घिमिरेको भनाई थियो । ‘प्रदेश सरकार गठन पछिको अढाई बर्षकै समीक्षा आवश्यक छ,’मन्त्री घिमिरेले भने ।

IMG_6459

उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् । स्वास्थ्यकर्मीलाई घर घरमा गएर वीमा गर्न पनि उनले सुझाव दिए । ‘घरदैलो गर्दै शतप्रतिशतको स्वास्थ्य वीमा गर्नुहोस्,’उनले भने । निजी अस्पतालले दिने सेवा भन्दा प्रभावकारी सेवा दिन मन्त्री घिमिरेले आग्रह गरे । प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि एचडियूसहितको ५ सय वेड विस्तारको तयारी गरिरहेको पनि उनले बताए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती नगर्ने भएकाले उच्च मनोबलका साथ काम गर्न आग्रह गरिन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, जिल्ला समन्वय समिति महासंघ प्रदेश १ का अध्यक्ष बवि चाम्लिङ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहता लगायतले बोलेका थिए ।