धरान: होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई आवश्यक पर्दा तत्काल सेवा दिने उद्देश्यले धरानको वडा नं १६ ले अक्सिजन सिलिण्डर खरीद गरेको छ ।

होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई गाह्रो हुँदा तत्काल अस्पतालमा बेड नपाउने र अक्सिजन नपाएरै ज्यान गुमाउने अवस्था बनेपछि वडा नं १६ ले अक्सिजन सिलिण्डर खरीद गरेको हो । यसअघि धरानको वडा नं १४ र ८ ले इलेक्ट्रिक अक्सिजन मेशिन किनेको थियो । वडा अध्यक्ष दिलकुमार गिरी आफै आज मोरङको सोनापुरस्थित उद्योगमा पुगेर १० वटा सिलिण्डर ल्याएका हुन् । उनका अनुसार २० वटा सिलिण्डर खरीद गर्ने वडा कार्यालयको योजना छ । ‘२० वटा किन्ने लक्ष्य हो, आज १० वटा लिएर आएका छौं,’अध्यक्ष गिरीले भने,‘वीपीमा अक्सिजन बेड नै नपाउने, संक्रमितलाई विराटनगर लैजानुपर्ने र मृत्यु हुने भएपछि वडाले नै अक्सिजन सिलिण्डर किनेको हो ।’

ogygen-cylendr

वडाले ठुलो सिलिण्डर खरीद गरेको छ । एउटा सिलिण्डको १५ हजार मुल्य परेको वडा कार्यालयले जनाएको छ । एउटा सिलिण्डरले १८ घण्टासम्म अक्सिजन दिनेछ । पछि अक्सिजन भर्नुपर्दा उद्योगमा ३५० पर्नेछ भने धरानमा भर्दा ४५० पर्ने अध्यक्ष गिरीले बताए । ‘पछि अक्सिजन भर्दा पनि वडाले नै भरेर निःशुल्क सेवा दिनेछौं,’उनले भने । अक्सिजन दिनको लागि आवश्यक पर्ने मिटरलगायत सामानहरु पनि खरीद गरिने उनले बताए ।

ज्येष्ठ नागरिकहरुलाई निमोनियाबाट जोगाउन भ्याक्सिन दिने

वडा नं १६ कार्यालयले ७० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई निमोनियाबाट जोगाउन भ्याक्सिजन दिने पनि निर्णय गरेको छ । जाडो मौषम शुरु भएको र ज्येष्ठ नागरिकहरुलाई निमोनियासँगै संक्रमणको पनि जोखिम बढी भएकोले भ्याक्सिन दिने निर्णय गरिएको अध्यक्ष गिरीको भनाई छ ।

उनका अनुसार चिकित्सकहरुसँग आवश्यक सल्लाह र सहकार्य गरेर वृद्धवृद्धाहरुलाई भ्याक्सिन दिइनेछ । ‘डाक्टरहरुसँग सल्लाह र सहकार्य गरेर मात्र यो भ्याक्सिन दिइनेछ,’अध्यक्ष गिरीले भने,‘कसलाई भ्याक्सिन लगाउन उपयुक्त छ भनेर डाक्टरहरुले नै निक्यौल गर्नेछन्, त्यसको लागि आवश्यक स्वास्थ्य जाँच पनि गराउछौं ।’ वडा कार्यालयले कोभिडको बजेटसँगै स्वास्थ्य र लक्षित वर्गको बजेटलाई पनि भ्याक्सिजनमा खर्च गर्ने जनाएको छ । यसपटक वडा कार्यालयले कोभिडको लागि ५ लाख ८६ हजार बजेट विनियोजन गरेको जनाएको छ ।