धरान: भन्सार छलेर अवैधरुपमा ल्याएको कपडा र लेडिज चुरासहित विराटनगरबाट एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर १६ दरैयाका २५ बर्षीय राहुल रायलाई अवैध समानहरुसहित पक्राउ गरेको हो । उनले जोगवनीबाट भन्सार छलेर कपडा तथा लेडिज चुरा ल्याएको सुचना प्रहरीले पाएको थियो । सोही आधार प्रहरीले गए राती करिब १० बजेर ४० मिनेटमा रायको घरमा छापा मारेको थियो । सो क्रममा १ लाख ६७ हजार ३ सय रुपैया बराबरको कपडा र लेडिज चुराहरु फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका रायलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानी बुझाइएको पनि जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

chura

यसैगरि, हिजो नै दिउँसो करिब साढे ४ बजे विराटनगर ९ मा सडक किनारामा अवैधरुपमा भन्सार छलेर ल्याएको कपडा तथा किराना सामानहरु वेवारिसे अवस्थामा प्रहरीले वरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार करिब १ लाख ४५ हजार ३ सय बराबरको सामान वरामद भएको छ । उक्त सामानलाई पनि रानीस्थित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।