झापा: झापाको बिर्तामोड ६ गिरी मन्दिर स्थित पुर्वपश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा बुद्धशान्तीका २४ बर्षीय कुशल लिम्बु र सोही स्थानका ११ बर्षीय दिप्सन कँडेल रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दुर्घटना आज विहान साढे ११ बजे भएको थियो । मे २ प ४८४७ नम्बरको मोटरसाईकल र अर्को अन टेष्ट मोटरसाईकल एक आपसमा ठक्कर खाएको थियो । एकआपसमा जधेको दुवै मोटरसाईकललाई ना ६ ख ३३५० नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मे २ प ४८४७ नम्बरको मोटरसाईकल चालक कुशल लिम्बु र पछाडी सवार दिप्सन कँडेलको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी अनटेष्ट मोटरसाईकलका चालक गगन तामाङ र पछाडी सवार रहेकी साबित्रा कँडेल घाईते भएका छन् । उनीहरुको बिएनसि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ भने ठक्कर दिने ट्रक र चालक राजु श्रेष्ठ इलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा रहेका उक्त कार्यालयले जनाएको छ ।