विराटनगर: तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

भारतबाट अवैधरुपमा ल्याएको तस्करीको सामान र तस्करलाई नियन्त्रणमा लिन आज बिहान विराटनगर १७ मटेरुवामा प्रहरीले हवाईफायर गरेको हो । प्रहरीले तस्करी गरेर ल्याएको एक बोरा पेटी वरामद गरेको छ भने तस्करीमा संलग्न विराटनगरकी ३७ वर्षीय अरबिना खातुनलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । उनीसँगै रहेको १०८ थान बेल्ट(पेटी) पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । 

भन्सार छलेर अवैधरुपमा सामान आयात गरिरहेको समुहलाई प्रहरीले रोक्न खोज्दा तनाव सृर्जना भएको थियो । अचेल भारतसँगको सिमा क्षेत्रबाट अवैधरुपमा तस्करीको सामानहरु आयात गर्नेहरुको लर्को लाग्ने गरेको छ । तस्किरीको सामान नियन्त्रणमा लिन सादा पोसाकमा प्रहरी खटिएको थियो । बिहान करिब ४ बजेतिर २ जना सादा पोशाकको प्रहरीले नियन्त्रणमा लिन खोजद्या एक दर्जन बढी तस्करका समुहहरुले हुलहुज्जत गरेर अवरोध पुर्याउन खोजेका थिए । सोही क्रममा एक राउण्ड हवाई फायर भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । हवाई फायर गरेपछि तस्कर समूहहरु फरार भएका थिए । उनीहरुको खोजी तीब्र बनाइएको प्रहरीले जनाएको छ ।