धरान: अनलाईन कक्षाको शुल्क नतिरेकै कारण निजी तथा संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई परीक्षाबाट बञ्चित नगराउन अनुरोध गरेको छ ।

धरानका अभिभावकहरुले अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएपछि उपमहानगरको शिक्षा महाशाखाले धरानका सबै संस्थागत विद्यालयहरुलाई पत्र पठाउदै यस्तो अनुरोध गरेको हो । महाशाखाका शाखा अधिकृत रामचन्द्र कार्कीले हस्ताक्षर गरेको पत्रमा शुल्क नतिरेकै कारण कुनै पनि संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई परीक्षाबाट बञ्चित नगर्नु, नगराउनु निर्देशनानुसर जानकारीको लागि अनुरोध गरिएको उल्लेख छ । 'मेयर साबकोमा गुनासो आयो, त्यसपछि उहाँको निर्देशन अनुसार मैले सबै विद्यालयहरुलाई विद्यार्थीले शुल्क नतिरे पनि परीक्षाबाट बञ्चित नगराउन भनेर अनुरोधसहित जानकारी पत्र पठाएको हो,'कार्कीले भने, 'यो निर्देशन दिएको होइन ।'

धरानका अभिभावकहरुले अनलाईन कक्षा निर्धारण गर्न स्थानीय सरकारले ढिला गरेको र विद्यालयहरुले शुल्क नतिरे परीक्षा दिन नपाउने भनेर दबाब दिइरहेको गुनासोसहित आज(सोमबार) मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले मंसिर १४ गतेभित्र आफ्ना मागहरु पुरा गर्न अल्टिमेटमसमेत दिएका थिए । विद्यालय सञ्चालकहरुले सामान्य अवस्थामा जस्तै भर्ना शुल्क, मासिक शुल्क असुल गरिरहे पनि स्थानीय सरकार भने मुकदर्शक बनेको अभिभावकहरुको गुनासो छ । 

कोरोना महामारीको कारण विद्यालयहरु बन्द छन् भने कतिपय विद्यालयहरुले अनलाईन कक्षा सञ्चालन गरेको शुल्क लिइरहेका छन् । तर, अनलाईन कक्षाको शुल्क कति लिने भनेर निर्धारण गर्ने अधिकार स्थानीय सरकारलाई छ । धरान उपमहानगरले भने पटक पटक छलफल गरेपनि अहिलेसम्म अनलाईन कक्षाको शुल्क निर्धारण गर्न सकेको छैन ।sikxa-dhrn