धरान: अस्पतलामा भर्ना भएका गायक सुरेश गन्धर्वलाई धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले भेट गरेकी छिन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका गायक गन्धर्वबारे थाह पाएपछि हिजो बेलुकी उपप्रमुख भण्डारी गायक गन्धर्वलाई भेट्न पुगेकी थिइन् । स्वास्थ्य अवस्था बुझ्न पुगेकी उपप्रमुख भण्डारीले गायक गन्धर्वलाई आफ्नो व्यक्तिगत र उपमहानगरपालिकाकोतर्फबाट सकेसम्म सहयोग गर्ने वचन दिएको रंगकर्मी विष्णु मोक्तानले जानकारी दिए । ‘उहाँको उपचारमा के कसो गर्नुपर्ने हो, व्यक्तिगतरुपमा र नगरपालिकाकोतर्फबाट पनि पहल, सहयोग गछौं भन्नु भएको छ,’रंगकर्मी मोक्तानले भने,‘पहिलो प्राथमिकता उहाँको स्वास्थ्य हो, राम्रो उपचार होस्, परिवारलाई पनि खाद्यान्न पठाउन पनि पहल गछौं भन्नु भएको छ ।’

गायक गन्धर्वलाई रंगकर्मी मोक्तान, नेकपा नेता चोत्लुङलगायतको पहलमा हिजो दिउँसो करिब १२ बजेतिर वीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपप्रमुख भण्डारी बेलुकी करिब ५ बजेतिर गायक गन्धर्वको स्वास्थ्य अवस्था बुझ्न प्रतिष्ठान पुगेकी थिइन् । गायक गन्धर्वलाई आकस्मिक कक्षबाट अहिले ट्रापिकल वार्डमा स्थानान्तरण गरिएको छ । उनलाई मुटूको समस्यासँगै मधुमेह, उच्चरक्तचापलगायत स्वास्थ्य समस्या रहेको छ । रिन्केबुङको राँगोलाई..चुङकेबुङको चुलेसीले..बोलको गीतका गायक गन्धर्व धरान ८ मा डेरामा बस्दै आएका छन् । सारङ्गीको साथमा गीत गाएर गुजारा चलाउदै आएका उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि आर्थिक संकटबाट गुज्रिरहेका छन् ।