धरान: कोरोना संक्रमणबाट मोरङमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक र पुर्वगाविस अध्यक्षको मृत्यु भएको छ ।

तेह्रथुम घर भएपनि मोरङको टंकीसिनवरीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ३३ बर्षीय नविन बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको हो । उनको गए राती करिब ११ बजेर २२ मिनेटमा मृत्यु भएको बताइएको छ । बुढाथोकीको मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारको क्रमम मृत्यु भएको हो । उनी कार्तिक २६ गते अस्पताल भर्ना भएका थिए भने २७ गते संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा बुढाथोकीको दुई पटक प्लाज्मा थेरापी गरिएको थियो भने १० पटकसम्म रेम्डिसिभिर प्रयोग गरिएको अस्पतालले जनाएको छ ।

यस्तै, कोरोना संक्रमणबाट नै मोरङको साविक पथरी गाविसका पुर्वअध्यक्ष तिलक वान्तवा राईको पनि निधन भएको छ । ६६ बर्षीय राईको उपचारको क्रममा आज बिहान विराट मेडिकल कलेजमा निधन भएको हो । कार्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका राईलाई शुरुवमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो । स्वास्थ्य सुधार भएपछि घर लगिएको राईलाई स्वास्थ्यमा समस्या भएपछि करिब ५ दिनअघि विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।