धरान: धरान उपमहानगरपालिकाले निजी र सरकारी विद्यालयहरुसँग नै कुन ढाँचामा विद्यालय सञ्चालन गर्ने भनेर प्रस्ताव माग गरेको छ ।

कोरोना महामारीले विगत ८ महिनादेखि ठप्प भएको विद्यालयहरुमा पठनपाठन शुरु गर्ने कि नगर्ने भनेर धरान उपमहानगरपालिका र विद्यालयहरुले निर्णय गर्न सकिरहेको छैन । तर, संघीय शिक्षा मन्त्रालयले भने यसअघि नै ७ वटा विकल्पसहितको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ जारी गरिसकेको थियो । सोही अनुसार कतिपय विद्यालयहरुले अनलाईन कक्षा चलाए पनि प्रभावकारी नभएको गुनासो आइरहेको छ । आज उपमहानगरको शिक्षा महाशाखाले धरानका सबै विद्यालयहरुलाई एक साता अर्थात मंसिर १८ गतेभित्र कुन ढाँचामा विद्यालय सञ्चालन गर्ने हो, त्यसको प्रस्ताव पेश गर्न अनुरोध गरेको छ ।

विद्यालय सञ्चालनको प्रस्ताव विद्यालयहरुसँग नै माग गर्ने बारे हिजो मेयरस्तरीय निर्णय भएको शिक्षा महाशाखाका अधिकृत रामचन्द्र कार्कीले जानकारी दिए । सोही निर्णय अनुसार आज सबै विद्यालयहरुलाई आग्रह गरिएको उनले बताए । ‘विद्यालयहरुले आफुले कुन मोडालिटीमा सञ्चालन गर्ने हो, त्यसको लागि आफुसँग के कस्तो पुर्वाधार, जनशक्ति छ, स्वास्थ्य मापदण्ड कसरी पालना गर्ने भनेर प्रस्तावमा पेश गर्नुपर्नेछ,’अधिकृत कार्कीले भने,‘एक साताभित्र प्रस्ताव पठाएपछि छलफल गरेर निर्णय हुन्छ ।’

महाशाखाका अनुसार विद्यालय सञ्चालन प्रस्तावको ढाँचामा विद्यालयको नाम, ठेगाना, सञ्चालन भएको तह । कक्षा उल्लेख गर्नुपर्नेछ । यस्तै, विद्यार्थी संख्या, शिक्षक संख्या, कक्षा सञ्चालन हुने कक्षाकोठा संख्या, डेस्क बेञ्चको संख्या, विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा उल्लेख भएको ७ विकल्पमध्ये आफ्नो अनुकुलता अनुसार सञ्चालन गर्ने ढाँचा पनि प्रस्तावमा खुलाउनुपर्ने शिक्षा अधिकृत कार्कीले जानकारी दिए ।

यस्तै, विद्यालय सञ्चालना गर्ने समयावधि, पठनपाठन सञ्चालन गर्ने घण्टी, १ सिफट सञ्चालन गर्दा हुने विद्यार्थी संख्या, साबुन पानीले हातधुने व्यवस्था भए नभएको, विद्यालयहरुसँग भएको स्वास्थ्य सुरक्षा सम्बन्धी व्यवस्थाहरु जस्तो कि मास्क, सेनिटाइजर, थर्मल गनलगायत पनि प्रस्तावमा उल्लेख गर्नुपर्ने शिक्षा महाशाखाले जनाएको छ ।

sikxa1 sikxa2