धरान: धरानका निजी विद्यालयहरुले मनोमानीरुपमा अभिभावकहरुलाई डरत्रास देखाएर शुल्क बुझाउन दबाब दिएको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ ।
विद्यार्थी नेताहरुले मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई विज्ञप्ती बुझाउदै मनोमानी शुल्क उठाइरहेकोप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण पनि गराएको छ । अनेरास्ववियु धरान उपमहानगरपालिका कमिटिले जारी गरेको विज्ञप्तीमा अभिभावकहरुलाई डरत्रास देखाएर शुल्क बुझाउन दबाब दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । साविक अनेरास्ववियुका कार्यबाहक अध्यक्ष सौरव खड्का र साविक अखिल क्रान्तिकारीका अध्यक्ष घनश्याम थेवेले जारी गरेको विज्ञप्तीमा उपमहानगरपालिकाको शिक्षा शाखा भएपनि यस्तो वेथिती देखिनु आपत्तिजनक भएको उल्लेख छ ।
विद्यार्थीहरु भौतिकरुपमा विद्यालयमा उपस्थित नभएता पनि यातायात, खेलकुद, कम्प्युटर, ल्याबलगायत विभिन्न शिर्षकमा शुल्क असुल भइरहेको विद्यार्थी संगठनले जनाएको छ । स्थानीय सरकार(उपमहानगरपालिका)ले यस बिषयमा ध्यानाकृष्ट गर्न पनि विज्ञप्तीमा उल्लेख छ । त्यसअघि उपमहानगरपालिकाले विद्यार्थी संगठनहरुसँग गरेको छलफलमा पनि अनावश्यक शिर्षकहरुमा शुल्क लिइरहेको बिषयमा मेयर, उपमेयरको ध्यानाकर्षण गराइएको अनेरास्ववियु जिल्ला सदस्य सुजन खत्रीले जानकारी दिए । उनले भने,'अहिले स्कुल लागेको छैन, त्यसैले गाडी भाडा लिन पाइदैन । ल्याब, कम्प्युटर शुल्कहरु पनि लिन पादैन भन्यौं । अभिभावक, स्कुल, शिक्षक सबैलाई राहत हुने गरि शुल्क निर्धारण हुनुपर्छ भन्ने कुरा राख्यौं । पढाई भएको समयदेखि निश्चित प्रतिशतको आधारमा लिनुपर्छ ।'