धरान: मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ११ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको करिब १४ बिघा जग्गा छ । उक्त जग्गाको सहीरुपमा सदुपयोग हुन सकिरहेको छैन ।

प्रतिष्ठानका पदाधिकारी एवं कर्मचारीहरु मंगलबार सुन्दर हरैचास्थित उक्त जग्गाको स्थलगत अवलोकन गर्न पुगेका थिए । सो क्रममा उनीहरुले जग्गाको सधियारसमेत भेटेर चारकिल्ला समेत छुट्याएका छन् । रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले प्रतिष्ठानको सम्पत्तिको अवस्था के कस्तो छ भनेर स्थलगतरुपमा हेर्न गएको र चारकिल्ला समेत छुट्याएको बताए । ‘सुन्दरहरैचामा भएको जग्गा अतिक्रमणमा भएको छ छैन, के कसो छ भनेर हेर्न गएका थियौं । संधियार भेटेर चारकिल्ला पनि छुट्याएको हो,’रजिष्ट्रार डा.रेग्मीले भने ।

प्रतिष्ठानको जग्गा अवलोकन गर्न रजिष्ट्रार डा.रेग्मीसँगै रेक्टर प्रा.डा.गुरु खनाल र विभिन्न शाखाका कर्मचारीहरु सुन्दर हरैचा पुगेका थिए । सुन्दर हरैचामा प्रतिष्ठानको नाममा ९ बिघा जग्गा रहेको छ भने सुवर्ण फर्मास्युटिकल्सको नाममा ५ बिघा जग्गा छ । सुवर्ण फर्मास्युटिकल्समा प्रतिष्ठानको ५० प्रतिशत सेयर रहेको छ । 

bp-sundar-haraicha

सुन्दर हरैचामा रहेको जग्गाको अवलोकन गर्दै रेक्टर, रजिष्ट्रारलगायत । तस्बिर: महेश्वर ताम्ला राई

निकट भविष्यमा नै सुन्दर हरैचामा भएको प्रतिष्ठानको जग्गामा नेपाल सरकारले ५० बेडको सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ । सातै प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल बनाउने सरकारको निर्णय छ । सोही निर्णय अनुसार प्रदेश १ मा बनाउने भनिएको अस्पताल सुन्दर हरैचास्थित प्रतिष्ठानको जग्गामा निर्माण गरिनेछ । प्रतिष्ठानको गएको सिनेट बैठकले पनि सरकारले निर्माण गर्ने भनेको सरुवा रोग अस्पतला सोही जग्गामा निर्माण गर्ने निर्णयसमेत गरिसकेको छ ।

रजिष्ट्रार डा.रेग्मीले ५० बेडको सरुवा रोग अस्पताल बनाउन प्रदेश सरकार, केन्द्र सरकार र प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएपछि मात्र शुरुवात हुने बताए । ‘सरकारले ५० बेडको सरुवा रोग अस्पताल बनाउने नीतिगत निर्णय गरेको छ । वीपीको सिनेटले पनि निर्णय गरेका छौं,’उनले भने,‘सरकारको प्रस्ताव आएपछि थप निर्णय गछौं । प्रदेश, केन्द्र सरकारसँग त्रिपक्षीय सम्झौता गर्नुपर्छ ।’