धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४४ औं सिनेट बैठक आज दिउँसो ३ बजे हुदैछ ।

काठमाण्डौंमा हुन लागेको बैठक बिहान ११ बजेलाई तय गरिए पनि बिशेष कारणले दिउँसो ३ बजेलाई सरेको हो । कोरोना महामारीको बेला नियन्त्रण, उपचारमा केन्द्रीत हुनुपर्नेमा सबै पदाधिकारीहरु बैंठक बस्न काठमाण्डौं गएको भन्दै चर्को विरोध पनि भइरहेको छ । सिनेट बैठकमा प्रतिष्ठानको जग्गा व्यापारीलाई भाडामा दिन लागेको र सुन्दर हरैचाको जग्गामा मदन भण्डारीको नाममा ट्रमा सेन्टर बनाउन लागेको भन्दै विरोध पनि भइरहेको छ । बैठक स्थगित गर्न धरानका मेयर, कांग्रेसको भातृसंगठनहरुले मागसमेत अघि सारेको छ ।

यो सिनेट बैठकको एजेण्डाप्रति राजनीतिक दलले मात्र होइन, प्रतिष्ठानकै कर्मचारी कल्याण समाज र चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले पनि विरोध जनाएको छ । शिक्षक कल्याण समाजले प्रेस विज्ञप्ती जारी गर्दै सिनेटका एजेण्डाहरुमा २१ दिन अघि नै सिनेटरहरुलाई जानकारी दिनुपर्ने व्यवस्था भएपनि जानकारी नदिएको साथै सरोकारवालाहरुसग पनि छलफल नभएकोमा असन्तुष्टी जनाएको छ । सरकारले निषेधाज्ञा जारी गरिसकेको र कोभिड १९ को महामारीमा मन्त्रालयकै सुचना वेवास्ता गर्दै बैठक राखोकोमा पनि समाजले विरोध जनाएको छ । साथै विद्यार्थी, शिक्षक र कर्मचारीहरुको प्रतिनिधिहरुलाई बैठकमा समावेश नगर्ने नीतयले अन्तिम समाजमा मात्र खबर गरेको भन्दै लोकतान्त्रिक मुल्या मान्यताविरुद्ध प्रतिष्ठान नेतृत्व गएको पनि समाजले जनाएको छ ।

यस्तै, कर्मचारी समाजले पनि विज्ञप्ती जारी गर्दै ४४ औं सिनेट बैठकमा निर्णायर्थ प्रस्तुत हुन लागेको एजेण्डाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै, बैठकको एजेण्डाहरुमा प्रतिष्ठानका सम्बद्ध पक्ष तथा सरोकारवालाहरुसँग व्यवस्थापन पक्षले छलफल नगरेको भन्दै विज्ञप्तीमा घोर भत्र्सना पनि गरिएको छ । विज्ञप्तीमा भनिएको छ,‘प्रतिष्ठानका कर्मचारी, शिक्षक तथा सरोकारवालाहरुसँग छलफल नगरी पेश गरिने नियमावली, चल अचल सम्पत्तिलगायत कुनै पनि दीर्घकालिन महत्व राख्ने निर्णय यस समाजलाई स्वीकार्य छैन ।’

महामानव वीपी कोइरालाको स्मरणमा स्थापित प्रतिष्ठानको सुन्दर हरैचास्थित जग्गामा जननेता मदन भण्डारीको नाममा ट्रमा सेन्टर बनाउने प्रस्तावले राजनैतिक द्धन्द निम्त्याउने पदाधिकारीको वद्नियत रहेको पनि समाजले जनाएको छ । उक्त प्रस्ताव तत्काल फिर्ता लिन पनि समाजले सबै सम्बन्धित पक्षसँग जोडदार माग पनि गरेको छ । पदाधिकारीको आन्तरिक द्धन्द र अनावश्यक शक्ति संघर्षले कोरोना अस्पताल संचालन तथा समग्र अस्पताल व्यवस्थापनमा देखिएको अव्यवस्थालाई तत्काल अन्त्य गर्न र तीनै तहको सरकारसँग समन्वय गरि पुर्णक्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पनि समाजले माग गरेको छ ।

गलत निर्णय हुन दिन्नौं: सिनेट सदस्य

चालु आर्थिक बर्षको बजेट महत्वपुर्ण एजेण्डा भएकोले सिनेट बैठक बस्न आवश्यक भएको एक सिनेटर बताउँछन् । ‘प्रमुख एजेण्डा बजेट हो, अर्को पुर्णविश्वविद्यालय बनाउने पहिलाकै निर्णय अघि बढाउने भन्ने हो,’ती सिनेट सदस्य भन्छन्,‘जग्गाको पनि धेरै कुराहरु बाहिर आए, तर एउटा व्यक्तिले चाहदैमा हुन्छ ? हामी छैनौं ? कुनै गलत निर्णय हुन दिन्नौं ।’

कार्यकारिणी समितिले काठमाण्डौं र धरान जग्गा व्यापारीलाई दिने र सुन्दरहरैचाको जग्गामा मदन भण्डारी ट्रमा सेन्टर बनाउने एजेण्डा सिनेट बैठकमा निर्णय गर्ने गरि स्वीकृत गरेको बताइएको छ । तर, ती सिनेट सदस्य भने निर्णय भएको नभै खाली रहेको जग्गालाई के गर्ने भनेर सामान्य छलफल भएको बताउँछन् । ‘कार्यकारिणी समितिका छलफल मात्र भएको हो, आजको बैठकमा जग्गालाई के गर्ने भन्ने एजेण्डा प्रवेश चै हुन्छ,’ती सिनेट सदस्य भन्छन्,‘नेपाल सरकारको सम्पत्ति कसैले बेच्न सक्छ ? हामी छौं, गलत निर्णय हुदैन ।’

'ट्रमा सेन्टर बन्नु राम्रो तर नामले राजनीतिक द्वन्द हुन्छ'

वीपी प्रतिष्ठानका एक कार्यकारिणी समिति सदस्य सुन्दर हरैचास्थित जग्गामा ट्रमा सेन्टर बनाउने योजनामा विमति नभए पनि मदन भण्डारीको नाम आएकोले समस्या भएको बताउँछन् । वीपी कोइराला र मदन भण्डारी दुवै सम्मानित व्यक्तित्व भएकोले एउटाको नाममा स्थापना भएको संस्थाको जग्गामा अर्को नाम घुसाउदा द्धन्द निम्तिने उनको भनाई छ ।

क्लिक धरानसँग कुरा गर्दै ती कार्यकारिणी समिति सदस्यले भने,‘एउटा महान नेताको नाममा भएको संस्थामा अर्को महान नेताको नाम घुसाउदा राजनैतिक द्धन्द निम्तिन्छ भनेर हामी केही कार्यकारिणी सदस्यले सचेत गराएका छौं, त्यस्तो निर्णय भए दुर्भाग्य हुनेछ ।’ उनले वीपी प्रतिष्ठान आफैमा ब्राण्ड भएकोले वीपीकै स्वामित्व रहने गरि ट्रमा सेन्टर सञ्चालन गर्नु उपयुक्त हुने बताए ।

'भाडा लगाउन जग्गा दिएको होइन'

ती कार्यकारिणी समिति सदस्यका अनुसार धरानको छाताचोकस्थित पुरानो अस्पतालको जग्गा निजी क्षेत्रलाई दिने बिषयमा छलफल भएको थियो । तर, कार्यकारिणी समितिका केहीले यो बिषयमा असहमति जनाएका थिए । ‘सरोकारवालाहरुसँग पर्याप्त छलफल हुनुपर्छ । वीपीलाई सेवा सुविधा विस्तार गर्न जग्गा दिएको हो, सटर बनाएर व्यापार गर्न, भाडा उठाउनलाई होइन,’उनले भने ।

bigyap Bigyapti-o-(1)