धरान: कोरोना महामारी र लकडाउनको कारण बन्द भएको धरान १७ स्थित एन्फा एकेडेमीलाई पुनः सञ्चालन गर्ने तयारी थालिएको छ ।

स्कुलहरु पनि सञ्चालन हुने सम्भावना बढेपछि एन्फा एकेडेमी मेनेजमेन्ट कमिटीले एकेडेमीलाई सञ्चालन गर्ने तयारी गरेको हो । हाल एकेडेमीलाई धरान उपमहानगरपालिकाले क्वारेन्टिनस्थलकोरुपमा प्रयोग गरिरहेको छ । मेनेजमेन्ट कमिटीले अब स्कुलहरु सञ्चालन भएसँगै उमेर समुहका खेलाडीहरुलाई राख्नुपर्ने भएकोले आवश्यक तयारी गर्नको लागि क्वारेन्टिन हटाइदिन आग्रह गरिसकेको छ । ‘अब स्कुलहरु चाडै सञ्चालनमा आउने कुरा छ । त्यसैले हामीले पनि बच्चाहरु ल्याएर राख्नुपर्ने भएकोले अहिलेदेखि नै तयारी गरिसक्नुपर्छ,’मेनेजमेन्ट कमिटीका सचिव प्रताप तामाङले भने,‘हामीले उपमहानगरपालिकालाई पत्राचार गरेर क्वारेन्टिन हटाइदिन आग्रह गरिसकेका छौं ।’

anfa-academy विदेशबाट आउने व्यक्तिहरुबाट संक्रमणको जोखिम बढ्ने भएकोले घरपरिवारमा सिधै जान नदिई केही दिन एन्फा एकेडेमीको क्वारेन्टिनमा राख्ने गरिएको थियो । पिसिआर परीक्षण गरेपछि पोजेटिभ आए वीपी प्रतिष्ठानमा र नेगेटिभ आए घर पठाउन थालिएको थियो । अचेल भने क्वारेन्टिनमा राख्नुपर्ने व्यक्तिहरु नभएकोले एन्फा एकेडेमी स्वाब संकलन गर्ने थलो मात्र बनेको छ । ‘हामीलाई तयारीको लागि ढिलाई भइसक्यो । मैदान धेरै नै सुक्खा भइसकेछ । घाँस पनि धेरै पलाएको छ । कोठाहरु ज्यादै अव्यवस्थित छ,’तामाङले भने ।

आज बिहिबार दिउँसो धरान गल्फ क्लबको घाँस काट्ने मेशिन र ट्याक्टर ल्याएर घाँस काटिएको थियो । उपमहानगरले औपचारिकरुपमा क्वारेन्टिन हटाएको जानकारी नदिए पनि मेनेजमेन्ट कमिटीले एकेडेमी सञ्चालनको लागि तयारी शुरु गरेको छ । एन्फाले धरानको एकेडेमीको लागि गत बर्षदेखि १४ बर्ष उमेर समुहका २६ जना बालखेलाडीहरु छनौट गरेर राखेको छ । यहाँ उनीहरुलाई खान बस्न, पढाई र फुटबल प्रशिक्षणको व्यवस्था गरिएको छ । ती २६ जना मध्ये ३ जना मात्र धरानका हुन् । उनीहरु धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीमा पढ्छन् । ‘भच्र्युल मिटिङ भएको थियो । बच्चाहरु कहिलेदेखि स्कुल लाग्छ भनेर उत्साहित छन् । हामीलाई फोन गरेर पनि सोधेको सोधेकै गर्छन्,’सचिव तामाङले भने,‘स्कुलहरु शुरु हुनुबित्तिकै आउछन्, त्यसैले हामीले तयारी थालेको हो ।’