धरान: धरान संगीत प्रतिष्ठानले लोक गायक सुरेश गन्धर्वलाई खाद्यान्न सामग्री र आर्थिक सहयोग पनि गरेको छ ।

अस्पतालबाट डिस्चार्ज भएर डेरामा आराम गरिरहेका लोकगायक गन्धर्वलाई प्रतिष्ठानले हिजो शनिबार खाद्यान्न सामग्री सहित आर्थिक सहयोग गरेको हो ।
खाद्यान्न सामाग्री सहित नगद ३४ हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरिएको धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठले जानकारी दिए । आर्थिक संकटमा परेका गन्धर्वलाई थप उपचारका लागि सहज होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको उनको भनाई छ । उक्त रकम धरानका कलाकारहरुबाट जुटाएर सहयोग गरिएको उनले बताए । भविष्यमा पनि थप सहयोग गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

sangit

रिन्केबुङको राँगोलाई..बोलको चर्चित गीत गाएका लोकगायक गन्धर्वलाई मुटु, सुगर, प्रेसरलगायत समस्या रहेको छ । आर्थिक कमजोरी साथै स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई केही समयअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको उपचारको लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आइरहेका छन् ।