धरान: लोक गायक सुरेश गन्धर्वलाई कामना सेवा विकास बैंकले ५० हजार आर्थिक सहयोग गरेको छ ।

लोक गायक गन्धर्वको धरान ८ साम्पाङ चोकस्थित डेरामा पुगेर बैंकले ५० हजारको चेक हस्तान्रतण गरेको हो । बैंकको प्रदेश नं १ का प्रमुख सुजन छाराहाङ राईले डमी चेक हस्तान्तरण गरेका थिए । उनले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत लोक गायक गन्धर्वलाई सहयोग गर्न पाउदा गर्वान्वित भएको प्रतिक्रिया दिए । रिन्केबुङको राँगोलाई..बोलको कालजयी गीत सुनेर आफु पनि हुर्किएको भन्दै राईले थोरै भएपनि राहत होला भनेर सहयोग गरेको बताए । ‘मेरो बैंकिङ करियरमा आजको जस्तो महान कार्य गर्न पाएको थिइनँ, यति मिठो र कालजयी गीत नेपाली लोक संगीतमा दिनुभएकोमा तपाईप्रति हार्दिक आभार व्यक्त गछौं,’उनले भने ।

kamana1

बैंकले आफ्नो धरानस्थित शाखामा गायक गन्धर्वको नाममा खाता खोलेर सहयोग रकम जम्मा गरिदिएको जनाएको छ । बैंकले गायक गन्धर्वलाई डेरामा नै चेक भौचर उपलब्ध गराउने र जुनसुकै बेला पनि गायकले पैसा झिक्न सक्ने शाखाका प्रबन्धक राम साम्पाङ राईले जानकारी दिए । कामना सेवा विकास बैंक राष्ट्रियस्तरको विकास बैंक हो । करिब एक बर्षदेखि १ नम्बर प्रदेशमा उपस्थिति जनाएको यो बैंकले धरान, इटहरी, विराटनगर हुदै काकाडभिट्टादेखि गाईघाटमा शाखा खोलेको प्रदेश १ प्रमुख छाराहाङ राईले जानकारी दिए । उनका अनुसार देशभरि यो बैंकको १२४ वटा शाखा रहेको छ ।

स्वास्थ्य भएर गीत गाउछुँ: गन्धर्व

suresh

चर्चित लोकगीत रिन्केबुङको राँगोलाई..गीतका गायक ६५ बर्षीय सुरेश गन्धर्व विगत ७, ८ बर्षदेखि धरानमा डेरा गरि बस्दै आइरहेका छन् । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएको थियो ।

गायक गन्धर्वको मुटुमा समस्या रहेको छ भने सुगर र प्रेसरलगायतको पनि समस्या छ । अहिले उनको स्वास्थ्य सुधार भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । धरान ८ साम्पाङ चोकस्थित डेरामा आराम गरिरहेका गायक गन्धर्व स्वास्थ्य भएपनि फेरि गीत गाउने बताउँछन् । ‘मलाई विश्वास छ, स्वास्थ्य भए पछि गीत गाउनेछु । स्वास्थ्यले साथ दियो भने गाउँछु,’उनले भने । गायक गन्धर्वको स्वास्थ्य उपचारको लागि विभिन्न संघसंस्था, व्यक्तिहरुले सहयोग गरिरहेका छन् । गायक गन्धर्वले सहयोगी दाताहरुलाई धन्यवाद पनि दिएका छन् । उनले पाएको सहयोग बैंक खातामा जम्मा गरेको पनि जानकारी दिए ।