धरान: आफ्नो ३५ बर्षको अलग्गै पहिचान भएको साविक विष्णुपादुका गाविस २०७० सालमा धरानमा गाभिएर उपमहानगरपालिका बन्यो । शुरुमा ४ वटा वडामा विभाजन भएपनि साविक विष्णुपादुका अहिले २० नम्बर वडा बनेको छ ।
उपमहानगरपालिकाबासीको हैसियत बनाएपनि विष्णुपादुकाबासीहरुले परिवर्तन तथा विकासको अनुभूति खासै गर्न पाएका थिएनन् । कच्ची बाटो गाउँघरतिर त खुल्यो तर बर्षामा हिलाम्य र हिउँदमा धुलम्मे हुन्छ । उपमहानगरपालिका भएपछि पनि ७ बर्षसम्म १ मिटर बाटो पनि कालोपत्रे एवं पक्की बन्न सकेन । स्थानीयबासीले आश्वासनबाहेक केही पाएनन् ।
अहिले भने विष्णुपादुकाको इतिहासमै पहिलो पटक बाटो कालोपत्रै हुदैछ । वडा नं २० र ११ जोड्ने नवनिर्मित सर्दु खोलको पुल नजिकैको विष्णुपादुकातर्फको देवी गाउँबाट भञ्ज्यांग जाने बाटो ९ सय ९८ मिटर कालोपत्रे हुने काम शुरु भएको छ । यो बाटो ट्रयाक खोलिएको नै २० बर्ष पुगिसकेको छ । दुई दशक पछि बल्ला कालोपत्रे हुदैछ । ‘विष्णुपादुकाबासीको लागि यो ऐतिहासिक अवसर भन्नुपर्ने हुन्छ । अहिलेसम्म धेरै बाटोको सञ्जाल खोलियो, तर कालोपत्रे छैन, स्तरीय बाटो भएन,’साविक गाविस अध्यक्षसमेत रहेका २० नम्बर वडा अध्यक्ष मणिराम राईले भने ।
उनका अनुसार साविक विष्णुपादुका गाविस २०३५ सालमा गाविस बनेको थियो । ठिक ३५ बर्ष पछि २०७० सालमा धरानमा समायोजन भएर उपमहानगरपालिका बन्यो । त्यसपछि पनि सांसदहरु, नगरपालिका सबैतिर गुहार गरेपनि कालोपत्रे सपना पुरा भएको थिए । यो बाटो गत बर्ष नै प्रदेश सरकारको पुर्वाधार मन्त्रालयबाट ठेक्का लागेको हो । खिम्दुङ कन्स्ट्रक्सनले गत बर्ष काम गरेन । म्याद सकिन लागे पछि अहिले काम शुरु गरेको हो । यसपाली पुष १५ सम्म कालोपत्रे सम्पन्न गर्नुपर्ने सम्झौता छ । यो बाटो ७६ लाखमा ठेक्का लागेको हो । वडाअध्यक्ष राई यो बाटोलाई कालोपत्रे गर्ने कामलाई निरन्तरता दिलाउन पहल गर्ने बताएका छन् । ‘कालोपत्रे शुरुवात भएको छ, हामी ज्यादै खुशी छौं । निरन्तरता दिलाउन लागि रहन्छौं,’उनले भने ।