विराटनगर: नेपालबाट भारततर्फ अवैधरुपमा गाई गोरु तस्करी हुने गरेको छ ।
प्रहरीले आज ४७ वटा गाई गोरु पक्राउ गरेपनि तस्करी भइरहेको पुष्टि गरेको हो । प्रहरीले भेटनरी क्वारेन्टाइनको सिफारिश नभएको ४७ वटा गाई गोरु पक्राउ गरेको जनाएको छ । मोरङको धनपालथान गाउँपालिका १ गडेरीया चोकमा नेपालबाट भारततर्फ भन्सार छलेर अवैधरुपमा निकासी गरिरहेको गाईगोरु पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले आज दिउँसो साढे १ बजे गाई गोरु पक्राउ गरेको हो ।
मोरङ प्रहरीका अनुसार पक्राउ परेका मध्ये २९ वटा गाई छन् भने १ वटा बाछी, १५ वटा गोरु र २ वटा बाछा रहेको छ । ती सबैको मुल्य अन्दाजी ५ लाख २१ हजार रहेको पनि प्रहरीको भनाई छ । पक्राउ परेका गाई गोरुलाई आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको पनि मोरङ प्रहरीले जानकारी दिएको छ ।