धरान: विप्लव समुहका कार्यकर्ताहरुले गोली हानेर हत्या गरेको भनिएका मोरङको मिक्लाजुङ गाउँपालिका १ का शिक्षकको घाँटी रेटेर हत्या गरेको खुलेको छ ।

घटनास्थलमा प्रहरी र गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यसमेत पुगेपछि शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गोली हानेर नभै घाँटी रेटेर भएको खुलेको हो । गाउँपालिकाकी उपाध्यक्ष सरला राईले घटनास्थल पुगेका अध्यक्षसँग फोन सम्पर्क हुँदा घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको भनेर जानकारी दिएको बताइन् । ‘बिहान गोली हानेर मारेको भन्ने थियो, तर अध्यक्ष ज्यु नै पुगेपछि घाँटी रेटेर हत्या भएको रहेछ भन्नु भयो,’उपाध्यक्ष राईले भनिन्,‘घटनास्थल धेरै टाढा भएकोले पनि पुग्न समय लागेको हो ।’

वडा नं १ स्थित सरस्वती आधारभुत विद्यालयका प्रअसमेत रहेका शिक्षक श्रेष्ठलाई आज बिहानै करिब ५ बजेतिर ५ जनाको समुहले अपहरण गरि लगेका थिए । त्यसको केही समयपछि हत्या भएको खबर प्रहरीमा पुगेको थियो । घटनस्थल गाउँपालिका केन्द्र मधुमल्लादेखि करिब ३५ किलोमिटर पुर्वउत्तर हो । त्यहाँसम्म सहजरुपमा गाडीमा पुग्न नसकिने भएकोले प्रहरीलाई पनि पुग्न समय लागेको थियो ।

उपाध्यक्ष राईका अनुसार घटनास्थलमा मुचुल्का तयार भएर शव झार्ने तयारी भइरहेको जानकारी गाउँपालिका अध्यक्ष आचार्यले गराएका छन् । मधुमल्लाबाट घटनास्थल पुग्न नै ३ घण्टा भन्दा बढी समय लाग्ने उनले बताइन् । वडा नं १ बर्खे भन्ने गाउँका शिक्षक श्रेष्ठलाई घरबाट १ किलोमिटर पश्चिमतर्फको जंगलमा पुर्याएर हत्या गरेको हो ।

मोरङका एसपी पनि घटनास्थलतर्फ जादै

शिक्षक श्रेष्ठको हत्या भएको घटनास्थलतर्फ मोरङ प्रहरी प्रमुख एवं एसपी सन्तोष खड्का पनि गइरहेका छन् । यसअघि बिहान पनि मोरङ प्रहरीका डिएसपी लोकदर्शन थापा पनि घटनास्थल गएका थिए । घटनास्थल विकट भएकोले नियमितरुपमा सञ्चार सम्पर्क हुन नसकेको एसपी खड्काले जानकारी दिए । ‘हाम्रो टोली पुगिसकेको छ, तर सञ्चार सम्पर्क भइरहेको छैन,’एसपी खड्काले भने,‘म आफै पनि घटनास्थलतर्फ जादैछुँ ।’