धरान: धरान वडा नं ६ पानवारीस्थित निसान वचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ ।

सहकारीका अनुसार लकर फुटाएर १५ लाख ९८ हजार चोरी भएको छ । आज बिहान करिब २ बजेको समयमा चोरी भएको देखिएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार ग्रिल फोडेर झ्यालबाट चोर कार्यालयमा प्रवेश गरेका छन् । चोरहरु ३ जनाको समुहमा थिए । प्रहरीले कुकुरसमेत लगेर अनुसन्धान गरिरहेको छ । ‘घटनास्थलमा बुझ्दैछौं । डग पनि ल्याएर अनुसन्धान भइरहकेो छ,’डिएसपी बस्नेतले भने ।

सहकारीका अध्यक्ष चन्द्र सुवेदीका अनुसार सिसिटिभी फुजेटमा झ्यालको ग्रिल फुटाएर चोरहरु कार्यालयमा प्रवेश गरेको देखिन्छ । तर, चोरहरुले मास्क र पिपिई जस्तै पहिरन लगाएको हुनाले प्रष्ट चिन्न नसकिएको उनले बताए । ‘१५ लाख ९८ हजार चोरी भएको छ । सिसिटिभी फुजेटमा देखिए पनि पिपिई जस्तै पहिरन र मास्क पनि लगाएकोले प्रष्ट चिनिएन,’अध्यक्ष सुवेदीले भने ।