धरान: हिजो विप्लव समुहले घाँटी रेटेर हत्या गरेका मिक्लाजुङ १ सरस्वती आधारभुत विद्यालयका प्रअ राजेन्द्र श्रेष्ठको शव धरान ल्याइएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गर्नको लागि मृतकको शव धरान ल्याइएको हो । अहिले प्रतिष्ठानमा शवको पोष्टमार्टम भइरहेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिए । ‘शव धरानमा छ, अहिले पोष्टमार्टम शुरु भयो भन्ने जानकारी आएको छ,’अध्यक्ष आचार्यले भने । मृतक श्रेष्ठको परिवार मिक्लाजुङ वडा नं २ रतनास्थित घरमा छन् । घटना भएको स्थान र स्कुल वडा नं १ मा हो । वडा नं २ मा पनि श्रेष्ठ परिवारको घर भएकोले अहिले मृतका श्रीमति, छोरा बुहारी र छोरी त्यहाँ बसिरहेको गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिए ।

अध्यक्ष आचार्यका अनुसार घटनापछि वडा नं १ मा त्रासको वातावरण बनेको छ । स्थानीयहरु त्रसित अवस्थामा भएकोले सुरक्षा युनिट राख्न माग गरिएको उनले बताए । ‘बस्ती पनि पातलो छ, हिजोको घटनापछि गाउँमा मान्छेहरु त्रसित छन्,’अध्यक्ष आचार्यले भने,‘हामीले हाम्रो तर्फबाट वडा १ मा सुरक्षा युनिट राख्नुपर्छ भनेका छौं । गाउँमा पनि असुरक्षित भयो भन्ने कुरा छ ।’

श्रेष्ठलाई हिजो बिहानै वडा नं १ स्थित घरबाट विप्लव समुहले अपहरण गरि लगेर जंगलमा हत्या गरेको थियो । उनलाई घाँटी रेटेर विभत्स तरिकाले हत्या गरेको अवस्थामा शव फेला परेको थियो । नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको मेची कोशी ब्युरोले हिजो राती विज्ञप्ती जारी गर्दै श्रेष्ठको हत्याको जिम्मा लिएको थियो । पार्टी विरुद्ध सुराकी गरेको र सच्चिन चेतावनी दिदा पनि नसुध्रिएको भन्दै हत्याको कारण जनाइएको छ । biplop