धरान ः झरना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार आफ्नै भवन उद्घाटन भएको छ ।
धरान ९ आचार्य लाइनस्थित भवनको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । भवनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक धरान शाखाका संयोजक तथा जिल्ला सहकारी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष नरेशकुमार इवारमले गरेका थिए । यस्तै, झरना सहकारीले आजदेखि नै एटिएम सेवा पनि सुरुवात गरेको छ । भवन उद्घाटन समारोहमा एटिएम सेवाको सुरुवात गर्दै वितरण गरिएको थियो ।
भवन उद्घाटनसँगै सहकारीको १० औँ वार्षिक साधारणसभा पनि शुरुवात भएको छ । कोरोना भाइरसको कारण साधारणसभा ५ दिन मंसिर २९ गतेसम्म हुने बताइएको छ । सहकारीका अध्यक्ष मानबहादुर मगरले प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६/७७ मा आयकर अघिको कुल मुनाफा ३३ लाख ३९ हजार ५ सय ३८ रुपैयाँ भएको जानकारी दिएका छन् । सहकारीले आर्थिक बर्ष २०७६/७७ मा ५३ करोड ३८ लाख ७९ हजार २ सय ७५ रुपैयाँ ६० पैसाको कारोबार गर्न सफल भएको पनि जनाएको छ ।
हाल सहकारीमा ५ सय ५८ जना महिला र १ हजार ९९ जना पुरुष गरी कुल १ हजार ६ सय ५७ जना शेयर सदस्य रहेका छन् । सहकारीको हाल सेयर पूँजी ३ करोड ७ लाख १ हजार ३ सय रुपैयाँ रहेको छ । सहकारीले यसवर्ष निक्षेप संकलन ३८ करोड २३ लाख ७३ हजार २ सय ८५ रुपैयाँ पुर्याएको जनाएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ लि।का सुनसरीका उपाध्यक्ष दिनेश श्रेष्ठ, बचत तथा ऋण सहकारी संघ लि। सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठ, धरान ९ नंम्बर वडाका अध्यक्ष रत्न कटुवाल लगायतको उपस्तिथि रहेको थियो ।