धरान: धरानका निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक शुल्क न्युनतम ३ हजार र अधिकतम ७ हजार रुपैया तोकिएको छ भने असोज महिनादेखि मात्र गत बर्ष कायम भएको शुल्क लिन पाउने निर्णय भएको छ ।

आज धरान उपमहानगरपालिकाले विद्यालय सञ्चालक र अभिभावकहरुसँग छलफल गरेपश्चात मेयर तिलक राईले यो मेयरस्तरीय निर्णय गरेको हो । विद्यालय सञ्चालक र अभिभावकहरुबीच आपसी सहमति वा समझदारी भएको खण्डमा सोही वमोजिम मासिक तथा बार्षिक शुल्क कायम गर्ने, सहमति वा समझदारी नभएको खण्डमा उपमहानगरले तोके वमोजिमको हुने निर्णय भएको शिक्षा महाशाखाले जनाएको छ ।

उपमहानगरका अनुसार निजी विद्यालयहरुले लिने मासिक शुल्क असोज महिनादेखि गत बर्ष कामय भएको शुल्क मात्र लिन पाउने निर्णय गरिएको छ । असोज महिना भन्दा अघि अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयहरुले अनलाइन कक्षामा सहभागी भएका विद्यार्थीहरुबाट मात्र मासिक शुल्कको आधा(पचास प्रतिशत) मात्र लिन पाउने निर्णय गरिएको छ ।

गत बर्ष बार्षिक शुल्क ६ हजारसम्म भएको हकमा चालु बर्षमा ५० प्रतिशत अर्थात ३ हजार मात्र लिन पाउने निर्णय भएको छ । तीन हजारभन्दा कम बार्षिक शुल्क लिने विद्यालयहरुले गत बर्ष लिने गरेको बार्षिक शुल्क रकम बराबरी मात्र लिने निर्णय भएको छ । यस्तै, गत बर्ष ६ हजारभन्दा माथि ९ हजारसम्म बार्षिक शुल्क लिएका विद्यालयहरुले यो बर्ष ४० प्रतिशत मात्र शुल्क लिन पाउनेछन् भने ९ हजारदेखि १२ हजारसम्म गत बर्ष शुल्क लिने विद्यालयहरुले ३५ प्रतिशत शुल्क लिन पाउनेछन् ।

यसैगरि, १२ हजारदेखि १५ हजारसम्म बार्षिक शुल्क लिने विद्यालयहरुले ३० प्रतिशत शुल्क लिन पाउनेछन् भने १५ हजारदेखि २८ हजारसम्म बार्षिक शुल्क लिने विद्यालयहरुले २५ प्रतिशत मात्र शुल्क लिन पाउनेछन् । ‘बार्षिक शुल्क प्रतिशतमा जे जस्तो भएपनि न्युनतम ३ हजार र अधिकतम ७ हजार मात्र लिन पाउनेछन्,’मेयर राईले क्लिकधरानसँग भने ।

fee1 fee2