धरान: धरानमा नगर गौरवको आयोजनामा छनौट भएको तीन वटा वडाको खहरे करिडोर निर्माण कार्य शुरुवात हुने भएको छ ।

उपमहानगरपालिकाका अनुसार धरानको वडा नं ८, १६ र १९ मा तीन वटा खहरे करिडोर एउटै प्याकेजमा ठेक्का लागेर सम्झौता पनि भइसकेको छ । ती मध्ये वडा नं १६ र १९ मा यसपटक खहरे खोलाको एकातर्फ मात्र करिडोर बन्नेछ भने वडा नं ८ स्थित तीनढ्वाङ्गे खहरेमा दुवैतर्फ करिडोर निर्माण हुनेछ । बहुबर्षीय योजनामा तीन वटा करिडोरको लागि ६ करोड बजेट विनियोजन भएकोमा भ्याटसहित ४ करोड ९५ लाख १७ हजार ३ सय ८१ रुपैयामा ठेक्का लागेको छ ।

आज वडा नं ८ को तीनढ्वाङ्गे खोलमा जनप्रतिनिधि, करिडोर पहल समिति र प्राविधिक इञ्जिनियरले करिडोर दाँयाबाया बाटोको एलाइमेन्ट छुट्याएको छ । उपमहानगरपालिकाका ईञ्जिनियर प्रभात तामाङका अनुसार तीनकुनेबाट वीपी जाने पुरानो बाटोमा पर्ने तीनढ्ङ्गे खोलाको दाँया बाँया निर्माण हुने बाटो उत्तरमा ट्रष्ट पुलसम्मको एलाइमेन्ट छुट्याइएको हो । उनका अनुसार खोलाको भाग २० फुट छोडेर दुवैतर्फ रिटेनिङ वाल निर्माण हुनेछ । त्यसपछि खहरेको दुवैतर्फ १४ फुटको बाटो निर्माण गरिनेछ । 'साइट क्लियरेन्स' भएपछि ठेकेदारले निर्माण कार्य अघि बढाउने तामाङले बताए ।

khaharey

खहरे करिडोरको ३ वटा योजना मध्ये वडा नं १९ र १६ मा मापदण्डभित्र घरहरु नपर्ने भएकोले समस्या छैन । तर, वडा नं ८ को तीनढ्वाङ्गेमा दुवैतर्फ घरहरु पनि मापदण्डभित्र पर्ने देखिएको छ । करिडोर निर्माण हुँदा विस्थापित हुने घरहरुलाई वडा र उपमहानगरपालिका मिलेर व्यवस्थापन गरिने करिडोर निर्माण पहल समितिका संयोजकसमेत रहेकी वडा नं ८ की सदस्य तथा न्यायिक समिति सदस्य सावित्री परियारले बताइन् । उनले भनिन्,‘यो बिषयमा नगरपालिकासँग पटक पटक छलफलमा बसेका छौं, स्थानीयको भनाई जस्ताको तस्तै रिपोटिङ गरेका छौं, र विस्थापित घरलाई व्यवस्थापनसहित नै विकास निर्माणको काम अघि बढाउछौं ।’ खहरे किनारमा बषौंदेखि समस्याग्रस्त भएर बसोबास गरिरहेका सुकुम्बासी वस्तीलाई यो करिडोरले धेरै लाभ पुग्ने उनले बताइन् । 

पहिल समिति सदस्य नन्दराज राईका अनुसार करिडोरको दक्षिणतर्फ तत्काल ४ घर पुर्णरुपमा विस्थापित हुने देखिएको छ । त्यसबिषयमा न्यायिक समिति संयोजकसमेत रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदीसँग ती घरलाई व्यवस्थापन तथा स्थापित गरेर मात्र करिडोर निर्माण गर्ने बिषयमा छलफल भएको बताए । ‘नउठाउला पनि अरु निकासको बाटो अपनाउनुपर्छ भन्ने मान्यता छ । करिडोर अवश्य पनि सफल नै रहनेछ भन्ने आशा छ,’उनले भने ।

khaharey2

करिडोरले विस्थापित हुने भनिएको तीनढ्वांगे खहरेका केही घरहरु ।


वडा नं ८ को तीनढ्वाङ्गे खहरे करिडोर बाहेक वडा नं १६ मा मगर संघको पुल र विद्युत प्राधिकरणको कार्यालय जाने पुलको बीचमा १६ नम्बरतर्फ एक साइडमा खहरे करिडोर निर्माण हुनेछ । यो खहरेको अर्को पट्टी भने वडा नं १ पर्ने भएकोले तत्काल वडा १६ तर्फमात्र करिडोर बन्ने छ । यस्तै, वडा नं १९ मा पनि हरियाली वन र यलम्बर वन समुहको बीचमा रहेको खहरेमा वडा नं १९ तर्फ रेलिंगसहित करिडोर निर्माण हुने छ । यो करिडोरमा अर्को साइड भने वडा नं ८ पर्ने भएकोले तत्काल एकापट्टी वडा नं १९ तर्फ मात्र निर्मांण हुनेछ ।