धरान: धरान उपमहानगरपालिकाले कृषि क्षेत्र घोषणा गरेको वडा नं ६ पानवारीमा सेरा सेउती मुल कुलो सिचाई योजनाको शिलान्यास भएको छ ।
आज बिहान प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यमा कुलो सिचाई योजनाको शिलान्यास भएको हो । यो योजनाको काम एउटा ठेक्कामार्फत हुदैछ भने अर्को उपभोक्ता समितिमार्फत हुदैछ । कुलो सिचाई योजना पुरा भएपछि वडा नं ६ को किसानहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । वडा नं ६ मा मात्र ४ सय बिघाभन्दा बढी जमिनमा खेती हुने गरेको अनुमान छ ।
शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले जनताको आवश्यकता वमोजिम विकास निर्माणको काम निरन्तर भइरहेको बताए । साथै उनले योजना समयमा नै निर्माण सम्पन्न हुने अपेक्षा पनि व्यक्त गरे । ‘स्रोत साधनलाई अधिकतम जनताको पक्षमा उपयोग गरेर विकास निर्माण कार्य भइरहेको छ, यो योजनाले तोकिएकै अवधिभित्र सम्पन्न हुनेछ भन्ने आशा लिएको छुँ’सभामुख भण्डारीले भने ।
मुल कुलो सिचाई योजना प्रदेश १ सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय, इनरुवाले निर्माण गर्न लागेको हो । कार्यालयका अुनसार डाइनामिक कन्स्ट्रक्सन प्रालि भरतपुर चितवनले भ्याटबाहेक ३ करोड ६१ लाख ९४ हजार ४ सय ३६ रुपैयामा ठेक्का पाएको छ । यसको स्टिमेट भने ५ करोड ६२ लाख ८९ हजार ५२ रुपैया भएको थियो । प्रालिसँग २०७६ माघ २४ गते सम्झौता भएको यो योजना २०७८ बैशाख २९ भित्र काम सम्पन्न गर्नुपर्नेछ ।
प्रालिले यो बजेटबाट लाइनिङ, ग्याबिन, रोड कल्भर्ट, फल स्ट्रक्सचर, डिभिजन बक्स र मुल कुलो निर्माण गर्नेछ । मुल कुलो १५ सय मिटरको हुन्छ भने थप ३ वटा शाखा करिब २ किलोमिटरको पनि निर्माण गरिने डिभिजन कार्यालयले जनाएको छ । ती शाखा कुलोमा एउटा १ किलोमिटरको हुने छ भने २ वटा ५ सय मिटरको निर्माण हुनेछ ।
जनश्रमदानबाट पनि निर्माण हुने
सेरा सेउती मुल कुलो सिचाई योजनाअन्तर्गत नै उपभोक्ता समितिमार्फत पनि काम निर्माण कार्य हुनेछ । यसको लागि सालिकराम बजगाईको अध्यक्षतामा सेरा सेउती मुल कुलो निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।
उपभोक्ता समितिमार्फत गरिने मुख्य कार्य माटोको कार्य, लाइनिङ आदि रहेको सिचाई कार्यालय इनरुवाले जनाएको छ । उपभोक्ता समितिमार्फत ५८ लाख ३४ हजार ३६ रुपैया बराबरको काम हुनेछ । यसमध्ये उपभोक्ताहरुबाट २४ लाख २३ हजार १ सय बराबरको जनश्रमदान हुनेछ भने सिचाई कार्यालयबाट ३५ लाख ४० हजार ६ सय २१ रुपैया लगायत खर्च हुनेछ । यो कामको लागि उपभोक्ता समितिसँग यही मंसिर २२ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ असार २१ गते काम सम्पन्न गर्नुपर्नेछ ।
वडा नं ६ का सदस्य हरि राईका अनुसार योजना सम्पन्न भएपछि खोलाबाट उठाउनु बित्तिकै सिचाईको पानी किसानको खेतमै आइपुग्ने र बीचमा चुहावट नहुने भएकोले धेरै लाभान्वित हुने बताए । साथै उनले कुलो भएको ठाउँमा बाटो पनि भएकोले ड्रेनको पनि काम गर्ने हुनाले थप फाइदा पुग्ने बताए । ‘वडा नं ६ लाई दोहोरो फाइदा हुन्छ । पानी खोलाबाट उठाउनु बित्तिकै किसानको खेतमा आइपुग्छ । कुलो भएको ठाउँमा बाटो पनि छ, त्यसले ड्रेनको काम पनि हुन्छ,’उनले क्लिकधरानसँग भने ।
योजना शिलान्यास कार्यक्रममा बिशेष अतिथिकोरुपमा धरानकी उपमेयर मञ्जु भण्डारी, ६ नम्बर वडाका अध्यक्ष भुवनसिंह बस्नेत, १५ नम्बर अध्यक्ष नरेश इवारम, सिचाई डिभिजन कार्यालयका इञ्जिनियरहरु, नेकपा प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव रमेश बस्नेत, जसपाका केन्द्रीय सदस्य पदम राई, नेकपा जिल्ला सदस्य चोत्लुंग, नेकपा धरान अध्यक्ष नारायण सुवेदी, नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ (क) का सभापति धनबहादुर कटवाललगायत राजनीतिकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।