मोरङ: मोटरसाइकलमा चिनी तस्करी गरेर ल्याउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका ४ बाट उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका १ बस्ने २१ बर्षीय अभिषेककुमार साह, धनपालथान २ का १७ बर्षीय दिपककुमार मण्डल, १८ बर्षीय अर्जुनकुमार मण्डल र १९ बर्षीय रुपेश मण्डल रहेका छन् । प्रहरीका अनुसार धनपालथान ४ का सुनिल राजवंशीको गोदाम अगाडि वरण्डामा भारतको कुवाडीबाट अवैधरुपमा चोरी पैठारी गरेर ल्याएको बोरा पल्टी गरिरहेको अवस्थामा उनीहरु हिजो साँझ पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार ४९ बोरा अर्थात २४६० केजी चिनी वरामद भएको छ । यसको बजार मुलइ १ लाख ४७ हजार रहेको प्रहरीले जनाएको छ । प्रहरीले चिनी ल्याउन प्रयोग गरिएका मोटरसाइकहरु को १८ प ५७४३, को २२ प १६४४ र को ११ प १६४४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाहरुलाई सामान र मोटरसाइकलसहित मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने मोरङ प्रहरीले जनाएको छ ।

भन्सार छलेर ल्याएको ट्याक्टर पनि नियन्त्रण

tractor

मोरङ प्रहरीले भन्सार छलेर नेपालतर्फ ल्याइरहेको अन टेस्ट ट्याक्टर पनि नियन्त्रणमा लिएको छ । गए राती करिब ८ बजे प्रहरी चौकी बरडंगाको गस्ती टोलीले सनबर्षी नगरपालिका ७ गुद्री चोकबाट उक्त ट्याक्टर नियन्त्रणमा लिएको हो । ट्याक्टरको मुल्य अन्दानी १६ लाख भएको अनुमान छ । ट्याक्टरलाई आवश्यक कारबाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाइने मोरङ प्रहरीले जनाएको छ ।