धरान: बर्षाको बेला धरान सरहको बीच भएर बग्ने खहरे खोलाहरुले गर्ने क्षतिले उपमहानगरपालिकालाई हैरान बनाउछ । ती खहरेका किनारमा बस्ने सुकुम्बासी बस्तीलाई भने फोहोर र त्यसबाट आउने दुर्गन्धले उस्तै सास्ती दिने गरेको छ ।

धरानको ठुलो खहरेमध्ये धरान ८ भएर बग्ने तीनढ्वांगे खहरे हो । अहिले यो खहरेको दुवै किनारमा बाटोसहितको खहरे करिडोर निर्माण हुने चरणमा छ । यो खहरे आसपासका बासिन्दाहरु भने बषौंदेखि फोहोर र दुर्गन्धले पीडित छन् । खहरे भएपनि अहिले त्यहाँ पानी बगेको देखिन्छ, तर त्यो पानी मुल फुटेर आएको प्राकृतिक होइन । बजार क्षेत्रबाट बगेर आएको ढल एवं ड्रेनको फोहोर हो । यो खहरे परिवार नियोजन संघको कार्यालदेखि दक्षिण ठुलो खोलाकोरुप लिएको छ । त्यसभन्दा उत्तरतर्फ भने भानुचोकदेखि वडा नं ७, २, ३, १ लगायत विभिन्न वडाको ड्रेनहरुको पानी निकास यही खहरेमा जोडिएको छ । त्यसैले कोशी राजमार्ग उत्तर सानो ड्रेनकोरुपमा रहेको यो खहरे राजमार्ग दक्षिण भने ठुलो खोलाकोरुपमा बगेको छ ।

khahare-fohor1

वडा नं ८ का राजनीतिकर्मी नन्दराज राई यो खहरेमा भानुचोकको शौचालयदेखिको फोहोरहरु मिसाइने भएकोले स्थानीयबासीहरु पीडित भइरहेको बताउँछन् । खहरे आसपासका बासिन्दाहरुलाई दर्गन्धले बसिनसक्नु पीडा दिएको साथै खोलाले क्षति पुर्याएको क्षेत्रमा प्राविधिकहरु नापजाँच गर्न आउदा पनि फोहोर र दुर्गन्धले राम्रो सर्वे पनि नगरि फर्कने गरेको उनी बताउँछन् । ‘यसले पर्यावरण, मानिसको स्वास्थ्यमा ठुलो असर परिरहेको छ, यो खोलामा जथाभावी फोहोर फाल्ने काम बन्द गर्नुपर्छ,’उनी भन्छन् ।

खहरे किनारको अरुण टोलका बासिन्दाहरु बजार क्षेत्रको ट्वाइलेटको फोहोर, ढल निकास मात्र नभएर मरेको कुकुर, विरालोलगायतको सिनो पनि खहरेमा फाल्ने गरेकोले आफुहरु असाध्यै पीडित भइरहेको बताउँछन् । ‘फोहोर मैलान, सिनो सबै यहाँ हालेको हुन्छ, भल आउदा गन्हाएर बसिनसक्नु हुन्छ । फोहोरहरु नियन्त्रण गरे त धेरै राम्रो हुन्थ्यो,’एक स्थानीयले भने ।

khaharey-fohor3

स्थानीयको पीडाबारे जनप्रतिनिधिहरु पनि जानकार छन् । तर, अहिलेसम्म फोहोर नियन्त्रण हुन सकेको छैन । न्यायिक समिति सदस्यसमेत रहेकी वडा नं ८ की सदस्य सावित्री परियार खहरे करिडोर निर्माण हुने चरणमा भएकोले भविष्यमा यसक्षेत्रका बासिन्दाहरुलाई राहत मिल्ने बताउँछिन् । यो खहरेमा ८ नम्बरको मात्र पानी नभएर अन्य विभिन्न वडाको ढल तथा ड्रेन निकास आउने भएकोले समग्रमा उपमहानगरपालिकाकै समस्या भएको उनले बताइन् । ‘अन्य वडाको फोहोर बगेर आउछ, बाढी आउदा बगेर जान्छ तर हिउँदमा एकदमै दुर्गन्ध हुन्छ,’उनले भनिन्,‘नियन्त्रणको लागि पहल गरिरहेकै छौं, यो समस्या उपमहानगरपालिकाकै भएकोले फोहोर व्यवस्थापनमा उपहानगरपालिका नेतृत्वले पनि गम्भीर ध्यानाकर्षण हुनुपर्छ ।’