मोरङ: ग्याँस सिलिण्डरमा तौल कम गरेर बिक्री गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज दिउँसो विराटनगर १४ महाला रोडका मनिष यादव पक्राउ परेका हुन् । उनले फोटोकपी तथा ग्याँस पसलमा एउटा ग्याँस सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्याँस तौल कम गरी बिक्री गरेको सुचना प्रहरीमा पुगेको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालय रानीको टोलीले यादवको पसलमा दिउँसो करिब २ बजे खानतलासी गरेको थियो ।
यादवको पसलबाट ठुलो ग्याँस सिलिण्डर ११ थान, सानो ग्याँस सिलिण्डर २ थान, तौल मेसिन १ थान, रेगुलेटर २ थान, एयर लिंक गर्ने पाइप १ थानसमेत वरामद भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका यादवको बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।