धरान: धरान उपमहानगरपालिका वडा नं १५ मा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ ।
बुधबार एक कार्यक्रमकाबीच वडा नं १५ का अध्यक्ष नरेश इवारमले भवनको उद्घाटन गरेका थिए । धरान १५, खोरिया बस्तीमा रहेको आफ्नै भवनबाट आजदेखि नै स्वास्थ्य केन्द्रले सेवा शुरु गर्न थालेको छ । स्वास्थ्य केन्द्रले वडाबासीलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । साथै, केन्द्रले विरामीलाई निःशुल्क रुपमा विभिन्न ४५ प्रकारको औषधी समेत वितरण गर्दै आएको छ ।
खोरीया बस्तीमा केन्द्रको २ कोठे भवन बनेको हो । सहरी स्वास्थ्य केन्दले आकस्मिक उपचार सेवा समेत प्रदान गर्दै आएको छ । वडाध्यक्ष इवारमले केन्द्रमा अहिले प्रेसरको जाँच गर्ने, चोटपटक लागेका घाइतेहरुको ड्रेसिङ गर्नेदेखि ज्वरो आउँदा र टाउको दुख्दा आवश्यक औषधी वितरणलगायत सेवाहरु सुचारु भइरहेको जानकारी दिए । उनका अनुसार यो स्वास्थ्य केन्द्रबाट वडा नं ५ का बासिन्दाहरु पनि लाभान्वित भएका छन् । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर तामाङका अनुसार ६ लाख ९७ हजार रुपैयाको लागतमा भवन निर्माण भएको हो । अहिले स्वास्थ्य केन्द्रमा अहेब सहित ३ जना कर्मचारी कार्यरत छन् ।