विराटचोकः नझरेका फूलहरुको २० औँ शृङ्खला बुधबार वरिष्ठ गायक दीप श्रेष्ठको जन्मोत्सव तथा विशेष सम्मान कार्यक्रमसहित सम्पन्न भएको छ।
मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको सभाहलमा गायक श्रेष्ठको ७१ औँ जन्मदिनको अवसरसमेत पारेर नझरेका फूलहरुद्वारा उनलाई सम्मान गरिएको थियो । कला, संस्कृति र गायन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका प्रस्तोता केपी घिमिरेले बताए । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचाका नगरप्रमुख शिवप्रसाद ढकाल रहेका थिए ।
प्रमुख अतिथि मेयर ढकालले श्रेष्ठले गाएका गीतले धेरै कालखण्ड पार गरे पनि अहिले पनि उत्ति नै सान्दर्भिक रहेको बताए । साथै उनले गायक श्रेष्ठले नेपालको साङ्गीतिक क्षेत्रमा गरेको योगदानको चर्चा पनि गरे । २० औँ शृङ्खलासम्म पुर्याउन यहाँका उद्योगी, व्यवसायीलगायतले गरेको सहयोगको सम्मान गर्दै यस्ता कार्यक्रमले कला, भाषा, साहित्य, गीत, सङ्गीतका क्षेत्रमा लाग्ने नयाँ पुस्तालाई महत्वपूर्ण अवसर मिल्ने समेत बताए ।
उपप्रमुख धनमाया तामाङ्ले नगरले यस्ता कार्यक्रममा विशेष सहयोग गर्ने बताइन् । साहित्यकार जेबी थुलुङले रेडियोमा सुनेका गीत आज गायकसँगै बसेर सुन्न पाउनुु सुुखद् क्षण भएको बताए । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष राजेन्द्रबहादुर थापाले २० औँ शृङ्खला सर्वोत्कृष्त भएको बताउँदै गायक श्रेष्ठको जन्म दिन सँगै बसेर मनाउन पाउनुु यस क्षेत्रका कला र साहित्यप्रेमीहरुका लागि खुशीको क्षण भएको बताए ।
गायक श्रेष्ठले आफ्ना गीत सुनाउँदै २०२५ सालमा पुस १ गते राजा महेन्द्रको अगाडि गीत गाएर आफूलाई गायकको रुपमा परिचित गराएको ‘म पथ्थरको देवता होइन...’ बोलको गीत दर्शकलाई सुनाएका थिए । धरानमा जन्मिएका गायक श्रेष्ठका सयौँ गीतहरु नेपालीको मनमस्तिष्कमा सजिएका छन् । कार्यक्रमको सभापतित्व मुख्य प्रायोजक पूर्वाञ्चल आविस्कार केन्द्रका सञ्चालक ज्ञान बस्नेत रहेका थिए । उनले उद्योग सञ्चालनका साथै कला साहित्यको विकासका लागि अन्य कार्यक्रममा समेत सहयोग गर्ने बताए ।
कार्यक्रमलाई मुख्य प्रायोजन पूर्वाञ्चल आविस्कार केन्द्र, ज्ञानु कङ्क्रिट ब्लक उद्योग, शुभारम्भ हेभी इक्युप्मेन्ट प्रा.लि सुन्दरहरैंचा, जीबिबि क्नट्रक्सन प्रा.लि.इटहरीले गरेको थियो भने प्रायोजक गोकुलम रिसोर्ट प्रालिले गरेको थियो । कार्यक्रममा गायक दुर्गा पराजुली, भुपेन्द्र राई, गायिका भूमा अधिकारी, कविता पाँचकोटीले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।