विराटनगर: प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ ।

व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्य सहित मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । मन्त्री घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यन्वयनमा लैजान निर्देशन पनि दिएका छन् । पालिका केन्द्रित कार्यक्रम भएकोले स्थानीय तहका प्रमुखहरुलाई कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्री घिमिरेले जोडदिएका छन् ।

कार्यक्रम सञ्चालनका लागि नमूनाका रुपमा सुनसरीको दुहवी र बराहक्षेत्र, मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र भद्रपुर, पाँचथरको फिदिम र याङवरक छनौट भएको छ । यस्तै, इलामको सुर्याेदय र देउमाई, उदयपुरको बेलका र कटारी, धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, तेह्रथुमको आठराई र म्याङ्लुङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेसीलाई छनौट गरेको सामाजिक विकास मनत्रालय श्रम तथा रोजगार शाखाका अधिकृत प्रदिप गौतमले जानकारी दिए ।

मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, विकास बैंकका प्रतिनिधिसँग आज स्किम बैँक सञ्चालन तथा व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम गरेको छ । पुँजी/अनुभव भएर पनि सम्भाव्यता अनुसारको स्किम नभएका युवाहरुलाई अनुकुलका उद्यम गर्नका लागि स्किम दिने गरि कार्यक्रम शुरु गर्न लागिएको गौतमले जानकारी दिए ।

चालु आर्थिक बर्षमा सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि १० करोड ५० लाख विनियोज गरिएको छ । तालिम स्थानीय तहको माग बमोजिम सञ्चालन गरिने उनले बताए । सामाजिक विकास मन्त्रालय, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्थाको समन्वय गरी कार्यक्रम सञ्चालन गरिने शाखा अधिकृत गौतमले बताए । छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले वित्तिय संस्था नपुगेका स्थानमा वित्तिय संस्था सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।