धरान: नगर गौरवको आयोजनामा छनौट भएको धरान ११ स्थित चतरा मार्गको शिलान्यास गरिएको छ ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आइतबार उक्त सडक तथा ढल निर्माण कार्यको शिलान्यास गरेका हुन् । स्वास्तिका चोकदेखि मंगलबारेसम्म १२४० मिटरको यो सडक तथा ढल आगामी एक बर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता छ । यो योजना साह निर्माण सेवाले ६ करोड २४ लाख ६२ हजार ३ सय ५९ मा ठेक्का पाएको छ । सडक ५० फिट मापदण्डको निर्माण हुने उपमहानगरपालिकाले जनाएको छ ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले तोकिएको अवधिभित्र गुणस्तरीय सडक निर्माण हुने विश्वास व्यक्त गरे । उनले अनुगमन र रेखदेखमा ध्यान दिन पनि स्थानीयबासीलाई आग्रह गरेका थिए । सडक मापदण्डमा पर्ने आफ्नो घरको जग्गा दिएर, वाल भत्काएर र घरै पनि सारेर निर्माणमा योगदान पुर्याएको भन्दै मुख्यमन्त्री राईले स्थानीयको भावनाको प्रशंसा गरे ।
‘कतिपय विकास निर्माणका कामहरु विभिन्न खालको अवरोधले निर्माण हुन नसकेको देखेका छौं, त्यसो गर्दा विकासको काम रोकिन्छ । हामी धुले सडकमा, अन्य प्रकारका अभावहरुमा बसिरहनुपर्छ । तर धरानमा त्यो छैन,’उनले भने,‘यो सडक निर्माणमा पनि त्यो खालको स्थिति देखाउनु भएको छैन । कति जग्गा छोड्नुपर्ने हो, कति वाल भत्काउनुपर्ने हो वा घर अलिकति थोरै सार्नुपर्ने हो । आदि जस्ता कुराहरुमा यहाँहरुले गर्नुभएको योगदानको सह्राहना गर्छु सम्मान गर्छु ।’
मुख्यमन्त्री राईले धरान सरकारले बनाएको नभै जनताले बनाएको सहरमा पर्ने बताए । धरान जनसहभागिताबाट चिल्लो सडक बनेको र असाध्यै सुन्दर सहर बनेको उनको भनाई थियो । उनले धरानलाई नेपालकै सुन्दर नगरी र प्रदेश नं १ को एक नम्बरमै आउने सहर भएको बताए । ‘नेपालकै सुन्दर नगरी हो धरान, हाम्रो प्रदेशको त १ नम्बरमै आइहाल्छ,’उनले भने,‘यसरी पर्यटकीय नगरकोरुपमा घोषणा भएको नगरपालिका आकर्षक बन्नुपछ, चिटिक्क नगर बन्नुपर्छ । सुन्दर नगर बन्नुपर्छ ।’
मुख्यमन्त्री राईले धरान धार्मिक हिसाबले, साँस्कृतिक हिसाबले, पर्यटकीयक हिसाबले असाध्यै राम्रो सम्भावनाहरुको जगमा उभिएको बताए । तर, धरानलार्य योजनाबद्ध र आधुनिक ढंगबाट सहि दृष्टिकोणको साथमा सजाउने नेतृत्व आवश्यक भएको मुख्यमन्त्री राईले बताए । उनले भने,‘भिजनको साथमा बनाउने सजाउने कामको लागि त्यस्तो एउटा लिडरसिपको धरानमा आवश्यक हो । त्यो लिडरसिप हुनुबित्तिकै, धरानले पाउदा सबभन्दा छिटो, व्यवस्थित सहरको रुपमा आकर्षक सहरकोरुपमा विकास हुने नगरमा पर्दछ ।’
धरानलाई स्मार्ट नगरमा बदल्नको लागि प्रदेश सरकारले सहकार्य गरिरहेको पनि मुख्यमन्त्री राईको भनाई थियो । ‘धरानमा स्मार्ट बसपार्कको आयोजना अघि बढ्न लागेको छ । खेलकुदको हब बनाउन खेलकुद ग्रामको अवधारणासहित अघि बढाउन खोजीरहेका छौं । पर्यटकीय हिसाबले केवलकार, भ्यु टावरहरु, स्काई वाक टावर बनाउने योजना अघि बढीरहेको छ । यसरी धरान भाग्यमानी नगर छ, यहाँहरु भाग्यमानी हुनुहुन्छ,’उनले भने ।
मुख्यमन्त्री राईले निवार्चित भएपछि सम्पुर्ण समय विकासमा केन्द्रीत गरेको बताए । सडकको ट्रयाक खोल्ने, स्तारोन्नति गर्ने, कालोपत्रे गर्ने, खानेपानी पुर्याउने, उज्यालो पुर्याउने, गुणस्तरीय शिक्षा पुर्याउने, स्वास्थ्य संस्थाहरुलाई स्तरोन्नती गर्ने, खेलकुदको संरचनाहरु तयार गर्नुको साथै कृषि उद्योग, पुर्वाधार, पर्यटनको क्षेत्रबाट रोजगारीको अवसर सर्जना गरेर समृद्धि गर्ने अभियानमा सरकार लागेको बताए ।
‘तीन बर्षभित्र थुप्रै कामहरु थालेका छौं । सिलान्यास गरेकाहरु धमाधम उद्घाटन हुदैछ । धमाधम विकास निर्माणको पुर्वाधारहरु उद्घाटन गर्दैछौं । सडक पुलहरु बन्दैछन् । विकास आफ्नै आँखाअघि सम्भव छ भन्ने प्रमाणित गरिरहेका छौं,’मुख्यमन्त्री राईले भने,‘एउटा सडक, पुलको लागि दशैं बर्ष काठमाण्डौं धाउनुपथ्र्याे, चाकडी गर्नुपथ्र्यो । आज विकास हाम्रौ हातबाट सम्भव छ, समृद्धि हाम्रै हातबाट सम्भव छ, हाम्रो आँखा अघि धमाधम कामहरु भइरहेको छ, यसैको लागि संघीय प्रणाली हामीले रोजेको हो ।’
कार्यक्रममा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी र वडा नं ११ का अध्यक्ष बाबुलाल लामाले पनि बोलेका थिए । मेयर राईले ठेकदारलाई चाडै निर्माण सम्पन्न गर्न आग्रह गर्दै उपमहानगरपालिकाले आर्थिक, प्राविधिक पक्षबाट पर्याप्त सहयोग गर्ने बताए । साथै, केही स्थानीयबासीको गुनासोलाई हल गर्ने पनि उनले बताए । उपमेयर भण्डारीले मापदण्डभित्रको घरको संरचनाहरु हटाएर स्थानीयबासीले सहयोग गरेको भन्दै आभार प्रकट गरेकी थिइन् । वडाअध्यक्ष लामाले आफुहरु निर्वाचित भएदेखि नै उक्त सडक निर्माणको लागि पहल गरेपनि अहिले पुरा भएको बताए ।