धरानः सुनचाँदी व्यवसायी संघ सुनसरीको अध्यक्षमा धरानका व्यवसायी राजेश अग्रवाल चयन भएका छन् ।
सोमबार धरानमा सम्पन्न भएको अधिवेशनबाट अग्रवालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अध्यक्षमा निवार्चित अग्रवाल सुनसरी उद्योग वाणिज्य संघका महासचिव पनि हुन् । यसैगरि, संघको उपाध्यक्षमा राजेश श्रेष्ठ र सचिवमा रोहन हाडा चयन भएका छन् । साथै, कोषाध्यक्षमा मनोज अग्रवाल र सहसचिव अमेश श्रेष्ठ चुनिएका छन् । संघको कार्यसमिति सदस्यहरुमा विद्या शाक्य, मानबहादुर विश्वकर्मा, हिरा श्रेष्ठ, वसन्त राई, कुमार श्रेष्ठ र विजय श्रेष्ठ चयन भएका छन् ।
धरानको पुरानो बजारस्थित हनुमान मन्दिरको गल्लीमा संघको नवनिर्मित भवनको पनि सोमबार उद्घाटन गरिएको थियो । यो भवनको कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले उद्घाटन गरेका थिए । निवर्तमान अध्यक्ष किसन मास्केले व्यवसायी, दाताहरुको साथ सहयोगले संघको आफ्नै भवन निर्माण गर्न सफल भएको भन्दै सबैमा आभार प्रकट गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि एवं नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष मोहनकाजी शाक्य, उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, सुनसरी उवासंघका पूर्व अध्यक्ष सरोज श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।