धरान: नेकपामा विभाजन भएसँगै प्रदेश, जिल्ला र नगरका नेताहरु पनि आफुहरुलाई कुन समुहको भनेर प्रष्ट कित्तामा उभ्याउन थालेका छन् । यसैक्रममा प्रदेश नं १ का १३ जना जिल्ला इञ्चार्जहरुले आफुहरु प्रचण्ड-माधव खेमामा रहेको प्रष्ट जनाउ दिएका छन् ।

प्रदेश नं १ को १४ जिल्लामध्ये खोटाङबाहेका अन्य १३ जिल्लाका इञ्चार्जहरुले आफुहरु पुष्पकमल प्रचण्ड दाहाल र माधवकुमार नेपाल समुहमा रहेको प्रष्ट पारेका छन् । उनीहरुले आज संयुक्त अपिल जारी गर्दै प्रचण्ड-माधव नेतृत्वको नेकपा नै मुलधार भएको दाबी पनि गरेका छन् । संयुक्त अपिल जारी गर्नेमा १३ जिल्लाका इञ्चार्जहरुसँगै विराटनगर महानगरपालिकाका इञ्चार्ज शिवकुमार मण्डल र खोटाङकी सहइञ्चार्ज समिता कार्की पनि छिन् ।

संयुक्त अपिलमा प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकढंगले प्रतिगामी शक्ति र नेपालको हित नचाहने वैदेशिक शक्ति केन्द्रहरुको इशारामा नेपालमा अस्थीरता पैदा गर्ने, जनताका आशा, भरोसा र विश्वासमाजि कुठाराघात गर्ने तथा पार्टी फुटाउने दुस्साहस गरेको आरोप लगाइएको छ । प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश मात्र नभएर जनताको घोर अपमान समेत भएको अपिलमा उल्लेख छ ।