धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले हिजो साँझ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई हटाएपछि नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समुहले आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्रीविरुद्ध नै अविश्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर अभियान चलाएको सुचना पाएपछि आङ्बोलाई मुख्यमन्त्री राईले हिजो साँझ पदमुक्त गरेका थिए । यो घटनाले दाहाल-नेपाल समुहलाई पनि अविश्वासको प्रस्ताव दर्ता गर्न सहज बनाएको छ । प्रदेश सरकारमा पुर्वमाओवादीबाट सरकारको नेतृत्व गरेका आङ्बोले आजै अविश्वासको प्रस्ताव दर्ता हुने बताए । ‘पर्याप्त तयारीमा छौं, भरै नै दर्ता हुन्छ,’उनले भने ।

नेकपाका एक नेताका अनुसार दाहाल-नेपाल समुहले भोली मात्र प्रस्ताव दर्ता गर्ने योजना बनाएको थियो । तर, मुख्यमन्त्री राईले हिजो अचानक आङ्बोलाई पदबाट हटाएपछि दाहाल-नेपाल समुहले पनि आजै प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । प्रदेशसभामा ६७ सदस्यीय नेकपा सांसदहरुमध्ये सभामुख र उपसभामुख पनि नेकपाकै भएकोले हाल ६५ सदस्यीय छन् । ती मध्ये बहुमत आफ्नो समुहको भएको दाहाल नेपाल पक्षको दाबी छ ।

मैले छोडे मात्र अरुले दाबी गर्छन्: आचार्य

bhim-acharya

नेकपा विभाजनसँगै प्रदेश १ मा ओली समुह अल्पमतमा परेको छ । जसले गर्दा मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार पनि संकटमा छ । उनलाई आफ्नै पार्टीभित्र संसदीय दलमा बहुमत पुर्याउनुपर्ने चुनौती छ भने सरकारलाई निरन्तरता दिन कांग्रेसको समर्थन पनि जुटाउनुपर्ने छ ।
उता दाहाल नेपाल समुह दलभित्र बहुमत भएसँगै अविश्वासको प्रस्ताव दर्ता गर्ने अन्तिम तयारीमा छ । तर, मुख्यमन्त्रीमा कस्लाई प्रस्ताव गर्ने भन्नेमा विवाद देखिएको एक नेताले बताए । ‘दलभित्र स्पष्ट बहुमत छ, तर कस्लाई मुख्यमन्त्री बनाउने भन्ने बिषयले अविश्वास प्रस्ताव दर्तामा ढिलाई भएको हो,’ती नेता भन्छन् ।

दाहाल नेपाल समुहबाट माधव नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम आचार्य प्रमुख दाबेदार हुन् । यसअघि उनी तत्कालिन नेकपा एमालेको संसदीय दलमा मुख्यमन्त्री राईसँग २ मतले पराजित हुर्दै मुख्यमन्त्री हुनबाट चुकेका थिए । यस्तै, नेपाल समुहबाटै हाल सामाजिक विकास मन्त्री रहेका जीवन घिमिरे र भोजपुरका नेता एवं सांसद राजेन्द्र राईको पनि नाम चर्चामा छ । उता पुष्पकमल दाहाल प्रचण्ड समुहबाट हाल नेकपामा संसदीय दलका उपनेता रहेका टंक आङ्बुहाङ र इन्द्र आङ्बोको दाबी छ ।

indra-angbo

नेपाल समुहका नेता आचार्य आफु काठमाण्डौंबाट दिउँसो विराटनगर आउने र छलफल गर्ने बताए । उनले आफु मुख्यमन्त्रीको दाबेदार रहेको बताउदै भने,‘मैले छोडिदिए मात्र अरुले दाबी गर्छन्, मैले नछोडे कसैले गर्दैनन् ।’ अविश्वासको प्रस्ताव दर्ता गर्न विराटनगरमा तयारी भइरहेको उनले बताए । दाहाल समुहका नेता आङ्बो मुख्यमन्त्री कसलाई बनाउने भनेर दिउँसो छलफल हुने बताए । ‘हामी पनि केन्द्रीय कमिटीमा छौं, हाम्रो नाम आउनु स्वभाविक नै हो । मुख्यमन्त्रीमा कस्को नाम हुन्छ, त्यो भरै नै थाह हुन्छ,’उनले भने ।