धरान:आइतबार राती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होस्टलमा तोडफोड गर्ने एक इन्टर्न विद्यार्थीसहित २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानले पक्राउ परेका प्रतिष्ठानका एमबिबिएस(इन्टर्न)विद्यार्थी २६ बर्षीय रोशन यादव र सप्तरी त्रिकोल गाउँपालिका ४ का २७ बर्षीय केशव यादवलाई सार्वजनिक गरेको हो । प्रतिष्ठानका विद्यार्थी यादव विराटनगर महानगरपालिका १३ का हुन् । उनी प्रतिष्ठानमा अध्ययनरत भएपनि अर्का केशव यादव भने उनको साथी मात्र हुन् । हिजो राती दुवै जना मादक पदार्थ सेवन गरेर १ नम्बर ब्वाइज होस्टलको ढोका, झ्यालका सिसाहरु तोडफोड गरे क्षति पुर्याएका थिए ।

bpkihs-hostel-todfod1

दुवै जनाले तोडफोड गर्नुका साथै अन्य विद्यार्थीहरुलाई धम्की पनि दिएका थिए । दुवैलाई पक्राउ गरेर प्रहरीले म्याद थपको लागि जिल्ला प्रशासन कार्यालय सुनसरी पठाएको छ । पक्राउ परेका प्रतिष्ठानका विद्यार्थी रोशन विगतदेखि नै गुण्डागर्दी शैलीका थिए । उनले ट्राफिक प्रहरीलाई रडले हिर्काएर घाइते बनाएका थिए भने प्रतिष्ठानकै चेक चोरी गरेर पैसा निकाले पछि पक्राउ परेका थिए ।

इन्टर्नलाई होस्टलबाट निष्काशन

मादक पदार्थ सेवन गरेर होस्टलभित्र तोडफोड गर्ने विद्यार्थी रोशन याद होस्टलबाट निष्कासन भएका छन् । होस्टेल वार्डेन डा.इन्द्र लिम्बुले यादवलाई होस्टेलबाट निष्कासन गरिएको र अब उनले इन्टर्नसीप बाहिरबाट नै पुरा गर्नुपर्ने बताए । ‘होस्टेल क्षेत्रबाट रेष्टिकेट गरेका छौं, अब उसले आफ्नो इन्टर्नसीप बाहिरबाटै सक्नुपर्छ,’डा.लिम्बुले भने ।

अनधिकृत व्यक्ति प्रवेश गराएकोबारे गार्डलाई स्पष्टीकरण

तोडफोडमा संलग्न भएका इन्टर्न विद्यार्थी रोशन यादवसँगै उनका साथी केशव यादवलाई होस्टेलभित्र प्रवेश गर्न दिएको बारेमा गार्डलाई स्पष्टीकरण सोधिएको छ । प्रतिष्ठानले अनधिकृत व्यक्ति कसरी होस्टेलभित्र प्रवेश पायो भनेर सेक्युरिटी कम्पनीलाई सोधेपछि कम्पनीले पनि गार्डलाई स्पष्टीकरण सोधेको हो । ‘यो बिषयमा वार्डेनले पनि सोधी सकेको छ । मैले पनि मौखिकरुपमा कम्पनीलाई सोधेको छुँ । रिपोर्ट के आउछ, त्यसअनुसार थप कारबाही प्रक्रिया अघि बढ्छ,’ प्रतिष्ठानका रेक्टर डा.गुरु खनालले भने,‘तोडफोड गर्नेलाई त प्रहरीले नै लगिसकेको छ, कानुनी कारबाही नै हुन्छ ।’