धरान: यसपाली गत बर्षभन्दा सुन्तलाको उत्पादनमा ह्रास आएको छ । सुन्तला व्यापारीहरुका अनुसार गत बर्षभन्दा ५० प्रतिशत नै सुन्तला उत्पादनमा ह्रास आएको छ ।

धरान १३ स्थित कृषि बजारका सुन्तला व्यापारी ज्ञानबहादुर बस्नेतका अनुसार पुर्वक्षेत्रमा सुन्तला उत्पादनमा कमी भएको कारण अहिले पश्चिम र भारतीय सुन्तला बजारमा भित्रिइसकेको छ । उनले भने,‘सुन्तला यसपाली पोहोरभन्दा कम उत्पादन भयो । पोहोरको तुलनामा ५०, ६० प्रतिशत कम छ ।’

भोजपुरको अरुण गाउँपालिका २ चम्पेका सुन्तला किसान राज राई पनि सुन्तला उत्पादनमा ह्रास आएको बताउँछन् । साथै उनले उचित मुल्य नपाउदा किसानहरु मारमा परिरहेको गुनासो पनि गरे । ‘उत्पादनमा ह्रास छ, तर दुःख लाग्ने कुरा चै उचित मुल्य पाएका छैनौं,’उनले भने,‘सरकारले नै कृषि उत्पादनको बजार मुल्य निश्चित गरिदिनुपर्छ ।’

भिडियो:

धरानको कृषि बजारका अनुसार गत बर्ष करिब ५ हजार मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो भने यो बेला २५ सय मेट्रिक टन कारोबार भइसकेको थियो । तर, यसपाली सुन्तला उत्पादनमा ह्राससँगै दानाको साइजमा पनि समस्या देखिएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । ‘यो बर्ष सुन्तला उत्पादन पछि सरेको छ, र दानाहरु पनि परिपक्क जस्तो छैन,’उनले भने,‘अहिले सुन्तलाको पिक सिजन हो, यो बेला भारतीय सुन्तला नआउनु पर्ने हो, तर यसपाली बजारमा आइसकेको छ ।’

suntala3 suntala1 suntala2 suntala4