धरान: मकुना हात्तीले गए राती कोशी गाउँपालिकामा पुनः एक जनालाई आक्रमण गरेर ज्यान लिएपछि स्थानीयबासीहरु आन्दोलित भएका छन् ।

हात्ती पीडित स्थानीयबासीहरुले आज बिहानैदेखि पुर्वपश्चिम राजमार्गको कोशी कटान क्षेत्रमा सडकमा प्रर्दशन गर्दै राजमार्ग अवरुद्ध पारेका थिए । मकुना हात्तीले पछिल्लो दुई साताको अवधिमा २ जनाको ज्यान लिइसकेको छ । यसअघि मंसिर २९ गते एक जनाको ज्यान लिएको मकुनाले हिजो राती करिब ८ बजे कोशी गाउँपालिका ४ का १९ बर्षीय मोती कामतलाई पनि आक्रमण गरि ज्यान लिएको थियो । कामतको शव आज बिहान मात्र फेला परेको थियो ।

sadak3

हात्ती पीडित स्थानीयबासीहरुले मृतकको शव राजमार्गमा राखेर प्रर्दशन गरेका थिए । उनीहरुले दीर्घकालिन समस्या समाधान गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । राजमार्ग अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपीसहित सुरक्षा प्रमुख, गाउँपालिकाका अध्यक्षसहितको टोली आन्दोलनरत स्थानीयबासीसँग छलफल गर्न कोशी कटान क्षेत्रमा पुगेका छन् । यसअघि मकुना बहुलाएको भन्दै मार्ने निर्णय भएको थियो । तर, पछि विरोध भएपछि प्राविधिक टोलीले अध्ययन गर्न आएको छ । उक्त टोलीले मकुना नियन्त्रणमा आउदै गरेको भनिरहदा हिजो पुनः व्यक्तिको हत्या गरेको हो ।

राजमार्ग खुल्ने समझदारी, आरक्षा कार्यालयअघि धर्ना दिने

sadak2

सडक अवरुद्ध गरेर आन्दोलनरत हात्ती पीडित स्थानीयबासीहरुसँग राजमार्ग खुलाउने समझदारी भएको छ । आन्दोलनकारीहरु मृतकको शव लिएर कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यलयतिर गएका छन् । उनीहरुले आरक्षा कार्यालयअघि धर्ना दिने भएका हुन् ।

सिडिओ, प्रहरी प्रमुख, जनप्रतिनिधिलगायतको रोहबरमा राजमार्ग खुलाउने समझदारी भएको स्थानीय पत्रकार मिखाइल आलमले जानकारी दिए । उनका अनुसार आन्दोलनरत पक्ष शव लिएर आरक्षा कार्यालयतर्फ गएका छन् । राजमार्ग बन्द गर्दा जनताले नै थप दुःख पाउने, स्थिति तनावपुर्ण हुने भन्ने भएकोले राजमार्ग खुलाउने समझदारी भयो, पत्रकार आलमले भने, शव उठाएर आन्दोलनकारी आरक्षातिर गइरहेका छन्, सरोकारवाला निकायले हात्तीको आतंकबाट दीर्घकालिन मुक्ति चाहेका छन् ।

sadak-andolan

सिडिओ फडिन्द्रमणी पोखरेलले राजमार्ग खुलिसकेको र अहिले आरक्षमा वार्ताको तयारी भइरहेको बताए । साथै, मकुना नियन्त्रणको लागि आएको प्राविधिक टोली पनि आरक्षामा आउने क्रममा रहेको उनले बताए । 'मकुनाले नै मारेको हो भन्ने भयो । आन्दोलनरत पक्ष आरक्षामा आउदै छन्, वार्ताको लागि हामी पर्खिरहेका छौं,'सिडिओ पोखरेलले भने ।

sadak 1

andolan 1