इटहरी: विराटनगर-इटहरी-धरान ६ लेन सडक योजना अन्र्तगत इटहरी क्षेत्रमा सडक सिमाभित्र पर्ने संरचनाहरु सात दिनभित्र हटाउने निर्णय भएको छ ।

आज इटहरी उपमहानगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयलाई सार्वजनिक सूचना जारी गरेर ६ लेन सडक सिमाभित्रका संरचना हटाउन अनुरोध पनि गरिने भएको छ । सूचना जारी भएको ७ दिन भित्र सडक सिमाभित्रको संरचना नहटाए इटहरी उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतको सहयोगमा ठेक्का भएको क्षेत्रका संरचनाहरु हटाउने पनि निर्णय भएको छ ।

बैठकमा इटहरीका प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, सुनसरी प्रहरी प्रमुख कमल थापा, इटहरीका वडाध्यक्षहरु र रानी-विराटनगर-इटहरी-धरान सडक योजनाका प्रमुख बद्री प्रसाद शर्मा पनि सहभागी थिए । बैठकमा सडक सिमा भित्रका संरचना नहटाउदा निर्माण कार्यमा वाधा पुगेको बिषयमा छलफल भएको थियो । इटहरीमा यो सडक ५५ फिट कि ८२ फिट कायम गर्ने भन्ने बिषयमा विवाद छ । 

यसअघि २०७६ फागुन १६ गते उपमहानगरमा वसेको वैठकले सडक सिमा खाली गराउने निर्णय गरेको थियो । त्यसपछि राष्टिय पत्रिकाहरुमा संरचना हटाउन सार्वजनिक सूचना जारी भए पनि कार्यान्वयन हुन सकेको थिएन । सडक सिमा क्षेत्रमा निर्माण भएको अस्थायी तथा स्थायी संरचनाको इटहरी उपमहानगर र योजनाका प्राविधिकहरुवाट संयुक्त लगत संकलन भइसकेको छ ।