धरान: प्रदेश नं १ का मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेतासमेत रहेका शेरधन राईले १५ जना सांसदहरुलाई निलम्बन गरेका छन् ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गर्ने सांसदहरुले तोकिएको अवधीभित्र स्पष्टीकरण पेश नगरेपछि निलम्बन गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । उनका अनुसार हिजो बुधबार मुख्यमन्त्री एवं संसदीय दलका नेता राईले स्पष्टीकरण नबुझाउने सांसदहरुलाई निलम्बन गर्ने निर्णय गरेका थिए । उक्त निर्णयलाई आज संसद सचिवालयमा जानकारी गराएको र सम्बन्धित सांसदहरुलाई कुरियरमार्फत पठाइएको पनि राजभण्डारीले जानकारी दिए । उनले भने,‘संसदीय दलको नेता तथा मुख्यमन्त्रीले स्पष्टीकरण नबुझाउने सांसदहरुलाई हिजो निलम्बन गर्ने निर्णय गर्नुभयो, र आज संसद सचिवालयमा जानकारी गराएका छौं ।’

प्रमुख सचेतक राजभण्डारीका अनुसार स्पष्टीकरण नबुझाउने सांसदहरुलाई ३ महिना निलम्बन गरिएको छ । नेकपाका प्रचण्ड माधव समुहका ३७ जनाले हस्ताक्षर गरेर मुख्यमन्त्रीमा भीमप्रसाद आचार्यलाई प्रस्ताव गरेका थिए । संसदीय दलको नेतालाई नसोधी, जानकारी पनि नगराई प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको भन्दै तीन दिनअघि प्रमुख सचेतक राजभण्डारीले किन कारबाही नगर्ने ? भन्दै सांसदहरुलाई स्पष्टीकरण सोधेका थिए । ती सांसदहरुमध्ये भीमप्रसाद आचार्यसहित १५ जनालाई निलम्बन गरिएको हो ।

अनुशासनको उल्लंघन गरेको, स्पष्टीकरण सोधेपनि जवाफ नदिएकोले संसदीय दलको विधान वमोजिम आगामी ३ महिनाको लागि संसदीय दलको कुनै पनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको तथा संसदीय दलको सदस्यता निलम्बन गरिएको प्रमुख सचेतक राजभण्डारीले जानकारी दिए । ‘अन्य सांसदहरुले मौखिकरुपमा स्पष्टीकरण दिनुभएको छ,’उनले भने ।

pradesh-sansad