धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलो पटक थाइमस ग्रन्थीको क्यान्सर भएका विरामीको सफल अप्रेशन गरिएको छ ।

तेह्रथुम घर भएका करिब ३५ बर्षीय ती युवाको प्रतिष्ठानका कार्डियो थेरासिक सर्जन एसोसिएट प्रोफेसर डा. लोकेज जैसवाल र उनको टिमले सफल अप्रेशन गरेको हो । ती विरामीलाई थाइमसको क्यान्सर फैलिएर फोक्सोसम्म पुगेको थियो भने क्यान्सरकै कारण फोक्सो मुनि रहने दुवैतर्फको डायफ्राम पनि प्यारालाइसिस भएर सास फेर्न सकिरहेका थिएनन् । विरामीको मुटू पनि ब्लक भएको थियो ।

डा.जैसवालको नेतृत्वमा ती विरामीको अप्रेसन गरेर क्यान्सरलाई निकालेर फालिदिएका छन् भने अस्थायी पेस मेकर हालेपछि मुटु पनि नियमितरुपमा चल्न थालेको छ । करिब डेढ महिना भेन्टिलेटरमा राखेर विरामी धेरै सुधार भइसकेको र अब डिस्चार्ज दिने तयारी गरिएको पनि डा.जैसवालले जानकारी दिए । ‘वीपीमा यो पहिलो पटक थाइमस ग्रन्थीको क्यान्सरको अप्रेशन भएको हो । यसको लागि कि काठमाण्डौं जानुपर्छ, कि अब यही मात्र हुन्छ,’डा.जैसवालले भने ।

dr-Lokesh-jaiswal

अहिले विरामी आफै सास फेर्न सक्नछन् भने खाना पनि आफै खान सक्ने भएका छन् । उनलाई चाडै डिस्चार्ज गर्ने र एक महिना पछि रेडियो थेरापी दिएर उपचार गरिने डा.जैसवालले जानकारी दिए । यसअघि थाइमोमा ट्युमरको भने अप्रेशन हुदै आएको थियो । तर, थाइमस ग्रन्थीको क्यान्सरको उपचार भने पहिलो पटक भएको हो । थाइमस ग्रन्थी मानिसको छातीमा हुन्छ भने डायफाम छाती र पेटको बीचमा हुने मासु हो । थाइमस ग्रन्थीको क्यान्सर दुर्लभ हुने भएकोले अप्रेशन पनि दुर्लभ भएको उनले बताए । 

सफल अप्रेशन भएका ती विरामीलाई रेडियो थेपारी गरेर क्यान्सरलाई पुर्णरुपमा निको पार्ने उपचार विधि एक महिनापछि शुरु गर्ने डा.जैसवालले बताए । ‘हामीले अप्रेशन नगरेको भए ज्यान गइसक्थ्यो, अब उहाँको जीवन कम्तीमा पनि ५ बर्ष लम्बियो,’उनले भने,‘त्यो भन्दा बढी पनि उहाँ बाँच्न सक्नुहुन्छ ।’

डा.जैसवालको नेतृत्वमा प्रतिष्ठानमा विगत ५ बर्षदेखि ओपन हर्ट सर्जरी, वाथ मुटू रोगको भल्व फेर्ने, बच्चाहरुको मुटूको प्वाल टाल्नेलगायतको उपचार सेवा भइरहेको छ । साथै, फोक्सोको क्यान्सरको अप्रेशन पनि हुन्छ भने धमनीहरुको पनि अप्रेशन हुने गरेको छ । मृगौला फेल भएका विरामीलाई डाइलाइसिस गर्न आवश्यक पर्ने फिस्टुला पनि डा.जैसवालले नै बनाइदिने गरेका छन् । ‘अहिलेसम्म ५ सय जतिको मुटू र फोक्सोको अप्रेशन गरिसकेका छौं, ती मध्ये ४ सयको ओपन हर्ट सर्जरी हो, एक सय जति फोक्सोको अप्रेशन हो,’डा.जैसवालले भने,‘मुटु फोक्सो, भास्कुलरको सबै अप्रेशन यही हुन्छ, त्यसको लागि काठमाण्डौं वा भारत कही पनि जानुपर्दैन ।’