धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र इन्टरनेट सेवामा देखिएको गुनासोहरु सम्बोधन गर्न कार्यदल गठन गरिएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले इन्टरनेट सेवा सम्बन्धी सम्पुर्ण पक्षहरुको अध्ययन विश्लेषण गरि राय, सुझाव पेश गर्न ७ सदस्यीय कार्यदल गठन गरेका हुन् । कार्यदलको संयोजकमा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेसिडिनका एसोसिएट प्रोफेसर डा.विजयकुमार खनाल रहेका छन् भने सहसंयोजकमा मानसिक विभागका एसोसिएट प्रोफेसर डा.मधुर बस्नेत रहेका छन् ।

यसैगरि, सदस्यहहरुमा सहायक अस्पताल निर्देशक डा.प्रमोद वराल, फ्याकल्टी वेलफेयरका प्रतिनिधि डा.सुर्य रिमाल, जुनियर रेसिडेन्टका प्रतिनिधि डा.पदम नेपाली र विद्यार्थी प्रतिनिधि अमृत जैसी रहेका छन् भने सदस्य सचिवमा कम्प्युटर शाखा प्रमुख राकेशकुमार दास रहेका छन् । कार्यदललाई ७ दिन दिन प्रतिवेदन दिने समय तोकिएको छ । प्रतिष्ठानसँग सम्झौता गरि सुबिसु केवल नेट प्रालिले इन्टरनेट सेवा दिदै आएको छ । गत साता प्रतिष्ठानका विद्यार्थी, चिकित्सकहरुले इन्टर सेवामा समस्या भएको भन्दै आन्दोलन गरेका थिए ।

कार्यदलका संयोजक डा.खनालका अनुसार कार्यदलले पाएको म्याण्डेट अनुसार आवश्यक अध्ययन कार्य शुरु भइसकेको छ । ‘कार्यदलले समस्या के हो ? सुविसुसँग कसरी सम्झौता भएको हो ? अहिलेको अवस्था के छ ? समय सापेक्ष कसरी अगाडि बढ्ने हो, भनेर समग्रमा बुझ्ने काम गरिरहेका छौं,’संयोजक डा.खनालले भने ।bp-internet