धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फ्याकल्टी(चिकित्सक शिक्षक)हरुमा विभाजित भएका छन् ।

प्रतिष्ठानमा निवार्चित भएको चिकित्सक तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले सबै क्षेत्रका शिक्षकहरुलाई नसमेट नसकेको भन्दै डा.बि एन यादव संयोजक रहेको १४ सदस्यीय शिक्षक कल्याण समाज गठन भएको छ । नवगठिन समाजले यसअघिको सिनेट बैठकले शिक्षक कल्याण समाज गठन गर्ने निर्णय गरेवमोजिम भएकोले आफुहरु वैध र आधिकारित भएको दाबी गरेको छ । तर, विगतदेखि प्रतिष्ठानमा रहेको चिकित्सक तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले भने शिक्षकहरुलाई फुट गराएर स्वार्थ पुरा गर्न व्यवस्थापन पक्षकै खेल भएको आरोप लगाएको छ ।

नवगठित शिक्षक कल्याण समाजका अध्यक्ष डा.यादव प्रतिष्ठानको ३२ औं सिनेटबाट शिक्षक कल्याण समाज, विद्यार्थी कल्याण समाज र कर्मचारी कल्याण समाज रहने प्रावधान राख्न सैद्धान्तिक सहमति दिएको बताउँछन् । पछि, मेडिकल तथा डेन्टल शिक्षकहरु मात्र सम्मिलित चिकित्सा तथा दन्त चिकित्सा शास्त्र शिक्षक कल्याण समाज राखिनुपर्ने माग गरिए पनि २०७१ भदौ ३० गतेको ३६ औं सिनेट बैठकले पनि ३२ औं सिनेटको निर्णय अनुसार नै शिक्षक कल्याण समाजलाई मात्र मान्यता दिएको डा.यादवको दाबी छ । ‘सोही निर्णय अनुसार अहिले समाज गठन भएको हो, यो गठनमा ढिलाई भयो तर यो नै आधिकारिक हो,’उनी भन्छन्,‘यो समाजमा मेडिकल फ्याकल्टी मात्र होइन, ननमेडिकल फ्याकल्टीहरु पनि गरी सबै समेटिएको छ ।’

bp-faculty2

हाल प्रतिष्ठानमा रहेको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाज भने आफुहरु निर्वाचनको प्रक्रियाबाट चुनिएको र आफुहरु नै आधिकारिक भएको दाबी छ । समाजका महासचिव डा.सुर्यप्रसाद रिमाल अर्को शिक्षक कल्याण समाज गठन भएको हल्ला सुने पनि आधिकारिकरुपमा जानकारी नआएको बताउँछन् । शिक्षकहरुको हकहितको कुरा उठाउदा, प्रतिष्ठानमा व्यप्त वेथिती र अनियमितताको बिषय उठाउदा व्यवस्थापन पक्षलाई मन नपरेर फ्याकल्टीहरुमा फुटाउ र राज गर भन्ने खेल भएको हुनसक्ने उनको भनाई छ ।

‘भिसिबाहेक ३ जना पदाधिकारीले पनि भोट हालेर निवार्चित गराएको पदाधिकारीहरु छौं । कुनै समय उहाँहरु पनि यो समाजको नेतृत्वमा रहनुभएको हो, अहिले यो समाज वैध होइन भनेर कसरी हुन्छ ?’महासचिव डा.रिमालले भने,‘हामीले निरन्तर फ्याकल्टीहरुको हकहितको कुरा उठाइरह्यौ, वेथितीको कुरा उठाइरह्यौं र प्रतिष्ठानलाई कसरी अघि बढाउने भन्यौं, त्यसैबाट उम्किन २, ४ जनालाई साथमा लिएर यही फ्याकल्टी सोसाइटी हो भन्ने बनाउनलाई फुट गराउने प्रयास गरेको हुनसक्छ ।’ उनले नर्सिङ र नन् मेडिकल फ्याल्टीहरुलाई समेट्न नसकेको स्वीकार गर्दै यो बिषयमा छलफल गरेर अघि बढ्न सकिने बताए । तर, फ्याल्टी समाजलाई फुट गराउनु गलत भएको उनले बताए ।