धरान: यही माघ ७ गतेदेखि प्रदेश नं १, प्रदेशसभाको हिउँदो अधिवेशन शुरु हुदैछ । मुख्यमन्त्री शेरधन राईविरुद्ध आफ्नै दल नेकपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेकोले यो अधिवेशनप्रति सबैको चासो छ ।

दुई दिनपछि शुरु हुने प्रदेशसभाको वैठकको अन्तिम तयारी पनि तीब्ररुपमा भइरहेको छ । प्रदेशसभा सचिवालयका अनुसार सिट प्लानिङ, मर्यादा पालक थप गर्नेलगायतको कामहरु भइसकेको छ । प्रदेशसभा सचिव गोपाल पराजुलीका अनुसार कोभिड १९ संक्रमणको जोखिम विगतमा भन्दा कम भएकोले यसपाली एउटै हलमा वैठक बस्ने तयारी गरिएको छ । ठाउँ अभावले पत्रकार तथा दर्शकदीर्घाको लागि प्रोजेक्टर वा टेलिभिजन स्क्रिनबाट हेर्ने व्यवस्था गरिने पनि उनले बताए । ‘पर्सिदेखि बैठक छ, सिट प्लानिङ गर्ने काम भएको छ । पत्रकार, दर्शकदीर्घालाई कहाँ, कसरी बस्ने भनेर मिलाउदैछौं,’सचिव पराजुलीले क्लिकधरानसँग भने ।

नेकपामा आएको विभाजन, अविश्वासको प्रस्ताव दर्ता र एकले अर्को पक्षलाई गरेको कारबाही श्रृंखलाले वैठकमा तनाव सृर्जना हुने अनुमान गरिएको छ । त्यसैले प्रदेशसभामा सांसदहरु बस्ने कुर्सीको खुट्टालाई भुँईमा फलामको पाताले थिचेर वेल्डिङ गरिएको छ । जसले गर्दा वैठकमा तनाव सृर्जना हुँदा कसैले पनि कुर्सी उचालेर तोडफोड गर्न सक्दैनन् । विगतमा नेपालका सांसदहरुले संसदमा कुर्सी उचालेर तोडफोड गरेको घटना भएकोले पनि प्रदेशसभामा यस्तो व्यवस्था गरिएको अनुमान छ । तर, प्रदेशसभा सचिव पराजुली भने सिटमा बस्न अफठेरो नहोस् भनेर कुसरीलाई त्यसरी राखिएको बताउँछन् । ‘सिटमा बस्न अफ्ठेरो नहोस् भनेर त्यस्तो गरिएको हो । पहिला पनि जोइन्ट नै थियो ।’ वैठकको सुरक्षाको लागि खटिने मर्यादा पालकहरु पनि १० जना थपिएका छन् । विगतमा ४७ जना मात्र रहेका मर्यादापालकहरुको संख्या ५७ पुगेको छ ।

कसरी शुरु होला बैठक ?

pradesh-sava1

प्रदेशसभा बैठक शुरु हुनुअघि बैठकमा छलफल हुने बिषयको कार्यसुची तयार गर्नुपर्ने हुन्छ । सामान्यतया सभामुखको निर्देशनमा सचिवले कार्यसुची तयार गर्छन् । तर, अहिलेको अधिवेशन बिशेष परिस्थितिमा हुन लागेकोले कार्यसुची कसरी बन्ला भन्ने द्धिविधा छ ।

खास गरि नेकपाको विभाजनले वैठक प्रभावित हुने चिन्ता छ । नेकपामा आएको फुट, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र एक समुहले अर्को समुहलाई सांसदबाट निलम्बन एवं कारबाहीको दाबीले प्रदेशसभा वैठक पनि प्रभावित हुने देखिएको छ । यसले बैठकको कार्यसुची के बन्ला ? कसरी बैठक शुरु होला भन्ने चासो र चिन्ता छ ।

प्रदेशसभा सचिव पराजुली कार्यसुचीको बिषयमा आवश्यकता अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर सभामुखले परामर्श लिने बताउँछन् । तर, यो समितिमा दलहरुको संसदीय दलबाट प्रतिनिधित्व गराउदा नेकपाबाट कुन समुहलाई आधिकारिकता दिने भन्ने विवाद हुने देखिन्छ । सचिव पराजुली भन्छन्,‘कार्यसुचीको लागि कसरत भइरहेको छ, तयार हुने क्रममा छ । परामर्श समितिको पनि बैठक बस्छ ।’ उनले अविश्वासको प्रस्तावको बिषयमा प्रतिक्रिया दिदै भने,‘कानुन वमोजिम नै हुन्छ ।’

संसद चल्न दिनुपर्छ: प्रमुख प्रतिपक्षी दल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइराला संसद निर्वाधरुपमा चल्न दिनुपर्ने बताउँछन् । क्लिकधरानसँग प्रतिक्रिया दिदै नेता कोइरालाले नेकपाको विवादले प्रदेशसभा बैठक अवरुद्ध हुने सम्भावना रहेको भन्दै चिन्ता पनि प्रकट गरे । ‘हाम्रो जोड भनेको संसद चल्न दिनुपर्छ भन्ने हो, प्रक्रिया अघि बढ्नबाट रोक्नु हुदैन,’नेता कोइरालाले भने,‘संसद चल्यो भने न अविश्वासको प्रस्तावमा छलफल हुन्छ ।’ नेकपाको दुई समुहको विवादबीच कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ला कि नबस्ला भन्नेमा पनि शंका व्यक्त गरे ।