काठमाडौँ: भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाको १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको छ ।

आज बिहान ११ बजेर ५३ मिनेटमा भ्याक्सिजन बोकेको एयर इण्डियाको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । भ्याक्सिजन बोकेको जहाज मुम्बईबाट दिल्ली हुँदै काठमाण्डौं आइपुगेको थियो । विमानस्थलमा भारतीय राजदूत विनयमोहन क्‍वात्राले भ्याक्सिन नेपालका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए ।

सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधी निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड भ्याक्सिनलाई भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । नेपालले पहिलो चरणमा आएको भ्याक्सिन कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलगायत सुरक्षाकर्मीहरुलाई दिने जनाएको छ ।