धरान: धरानको वडा नं १४, विजयपुरस्थित जंगलका बाँदरहरु हिजोआज बजार क्षेत्रमा आएर उपद्रो मच्चाउने गर्छ । ती बाँदरहरुले बजार क्षेत्रका कतिपय मानिसहरुलाई आक्रमण गरेर घाइते पनि बनाइसकेको छ ।

बजार क्षेत्रका बासिन्दाहरु ती बाँदरबाट यति आजित भएका छन् कि उनीहरुले संघर्ष समिति नै बनाएर बाँदर व्यवस्थापन गर्न धरान उपमहानगरपालिकालाई दबाब दिएका थिए । सोही दबाव वमोजिम उपमहानगरले विजयपुरका बाँदरहरुलाई नियन्त्रणमा लिएर अन्यत्रको जंगलमा छोडेको पनि थियो । तर, पनि संख्यामा कमी नभएपछि अहिले समस्या ज्यूँको त्यूँ छ । ती बाँदरहरुलाई कसरी व्यवस्थापन गर्ने ? अबको हप्ता दश दिनपछि भने धरान उपमहानगरपालिकाले उपयुक्त निकास एवं विकल्प पाउने भएको छ ।

धरानको बाँदरलाई व्यवस्थापन गर्न विज्ञ टोलीले अध्ययन गरिरहेको छ । उक्त टोलीले आज बाँदरबाट प्रभावित भएको वडाका अध्यक्ष, मेयर र वातावरण तथा विपद् व्यवस्थापन महाशाखासँग छलफल गरेको थियो । धरानको वडा नं १४, १, २, ३, १२ नम्बर वडा बाँदरबाट अत्यधिक प्रभावित छ । ‘विज्ञ टोलीले जनप्रतिनिधिहरुबाट समस्या के छ ? कसरी समाधान गर्न सकिन्छ भन्ने धारणा छ भनेर बुझ्ने काम भयो,’ महशाखा प्रमुख भोजराज घिमिरेले भने, ‘कन्सल्टेन्टले उहाँहरुको पनि कुरालाई समेटेर अबको हप्ता दिनभित्र प्रतिवेदन आउँछ ।’

monkey1

टिम लिडर एवं त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्रका प्राध्यापाक डा.मुकेश चालिसे अध्ययनको क्रममा धरानमा छन् । उनका अनुसार जनप्रतिनिधिहरुको संस्थागतरुपमा बाँदरको समस्या र समाधानको उपाय के छन् भनेर छलफल गरिएको हो । ‘उहाँहरुले देखेको समस्या र समाधान के छ ? त्यो बुझ्यौं,’डा.चालिसेले भने,‘दुःख दिने बाँदरहरुको दीर्घकालिन व्यवस्थापन कसरी गर्ने भनेर नै अध्ययन भइरहेको हो ।’

डा. चालिसेका अनुसार अहिलेसम्म केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका शिक्षक, विद्यार्थीहरुको सहयोग लिएर बाँदरको बासस्थान, संख्या, समस्याहरुको अध्ययनलगायतको संकलन गर्ने काम भएको छ । बाँदरको संख्या यकिन गर्न अझै अध्ययन भइरहेको उनले बताए । ‘बाँदरको संख्या कति छ भनेर अध्ययन गरिदैछ । बच्चा कति छ, किसोर, भाले र पोथी कति छ भनेर पनि गणना हुदैछ,’उनले भने ।