धरान: कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर खटिनेहरुलाई लक्षित गरेर आएको कोरोनाविरुद्धको खोप धरानमा पनि बुधबारदेखि लगाइने भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटललाई केन्द्र मानेर धरानमा फ्रन्टलाइनहरुलाई कोरोनाविरुद्धको खोप दिइनेछ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयको अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईका अनुसार धरानको वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलसहित सुनसरीमा ४ ठाउँमा केन्द्र बनाएर खोप लगाउने तयारी छ । इटहरी अस्पताल र इनरुवा अस्पतालमा पनि खोप केन्द्र राखिएको प्रसाईले जानकारी दिए । ‘प्रदेश १ मा सबै जिल्लाहरुमा खोप पठाइसकिएको छ, भोली बुधबारदेखि खोप लगाउने कार्य प्रायः सबैतिर शुरु हुन्छ,’प्रसाईले भने ।

भारत सरकारको अनुदान सहयोगमा प्राप्त भएको कोभिसिल्ड प्रथम चरणमा फ्रन्टलाइनरहरुलाई दिइनेछ । सुनसरीमा पनि ५ हजार ४ सय डोज हाराहारीमा खोप आइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयको कोल्डरुममा राखिएका खोपहरु बुधबार बिहान ८ देखि ९ बजेभित्र खोप केन्द्रमा पुर्याइने प्रसाईले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, शव व्यवस्थापनका कर्मचारी, एम्बुलेन्सका चालक, प्रहरी, सेनालगायतलाई दिइनेछ । सिडिओ संयोजक रहेको एक अनुगमन समिति पनि बनाइएको छ ।

विजयपुर हस्पिटलका निर्देशक प्रभाव खतिवाडका अनुसार खोप लगाइसके पछिको अवस्थालाई ख्याल गर्दै फिजिसियन डा.विवेक प्रभात साहको नेतृत्वमा ३ जनाको टिम पनि तयार गरिएको छ । हस्पिटलका स्वास्थ्यकर्मीहरुसँगै खोप लगाउन आउने अन्य सबैको लागि ठाउँ तयारी अवस्थामा राखिएको उनले बताए । वीपी प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलले पनि सरकारको निर्देशन वमोजिम भोलीदेखि खोप लगाउने तयारी गरिएको जानकारी दिए ।

कोभिड विरामीहरूको उपचार र व्यवस्थापनमा फ्रन्टलाइनमा रहेर काम गर्ने सरकारी, निजी, सामुदायिक, गैरसरकारी मेडिकल कलेजहरूमा कार्यरत स्वाथ्यकर्मीहरू, सरसफाइका कर्मचारी, सुरक्षाकर्मीहरूलाई खोप दिइनेछ । खोपका लागी आइएमयु नेपाल एपबाट नाम दर्ता गराएका प्रतिष्ठानका स्वास्थकर्मी तथा कर्मचारीहरूमा बिहान साढे १० बजेबाट पेइङ वार्ड २ मा खोप लगाउने कार्य सुरू गरिने पोखरेलले जानकारी दिए ।