धरानः वहाल करलाई न्यायोचित र प्रभावकारीरुपमा लागु गर्न धरान उपमहानगरपालिकाले कसरत थालेको छ ।

राजश्व परामर्श समितिको आयोजनामा मंगलबार उपमहानगरपालिकामा छलफलले करको थियो । उक्त छलफलले वहालको दर निर्धारण गर्दा चार वटा वर्गीकरणलाई आधार मान्नुपर्ने निष्कर्ष निकालेको छ । राजश्व तथा सुचना शाखा प्रमुख खगेन्द्र खतिवडाका अनुसार वहालको दर निर्धारण गर्दा क्षेत्रको वर्गीकरण, अवस्थिति, उपयोग र बनोटलाई आधार मानेर गरिनेछ । ‘मुख्य बजार क्षेत्र हो कि बाहिरी हो ? सडकमा हो कि भित्री ठाउँमा हो ? व्यापारिक प्रयोग हो कि आवासिय प्रयोगको हो ? र घर पक्की हो कि कच्ची हो ? भनेर हेर्नुपर्छ भन्ने निष्कर्ष रह्यो,’खतिवडाले भने,‘यिनै चार आधार मानेरवहालको न्यनतम दर निर्धारण गरिन्छ ।’

वहालको दर निर्धारण गर्ने ४ आधार तय भइसके पनि कति निर्धारण गर्ने भनेर पछि थप छलफल गरिने खतिवडाले जानकारी दिए । ‘दररेट क्षेत्रफलको आधारमा हुन्छ, कति निर्धारण गर्ने भनेर थप छलफल गछौं,’उनले भने । अब क्षेत्रफलको आधारमा प्रति वर्गफिट वहाल दर निर्धारण गर्ने र त्यसको आधारमा कर लागु गर्दा उपयुक्त हुने सुझाव आएको पनि उनले बताए । ‘अब क्षेत्रफलको आधारमा गरियो भने राम्रो हुन्छ । सानो कोठा छ भने थोरै, ठुलो छ भने धेरै वहाल लाग्छ,’उनले भने,‘यसले गर्दा कर पनि उठ्छ, करदातालाई पनि मार पर्दैन, न्यायोचित हुन्छ ।’ छलफलमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, सुनसरी उद्योग बाणिज्य संघका पदाधिकारी, विज्ञ सल्लाहकारसमेत सहभागी थिए ।