धरान: कोरोना विरुद्धको खोप अभियान अन्तर्गत पहिलो दिन बुधबार धरानमा २६४ जनाले कोभिसिल्ड खोप लगाएका छन् ।

कोभिडविरुद्ध फ्रन्टलाइनमा रहेर काम गरेकाहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विजयुर हस्पिटलमा खोप लगाएका हुन् । वीपी प्रतिष्ठानका १२६ जना स्वास्थ्यकर्मीहरुले खोप लगाएका छन् । ती मध्ये ८८ जना पुरुष र ३८ जना महिला छन् । उनीहरु कसैलाई पनि साइड इफेक्ट नभएको प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.प्रमोद वरालले जानकारी दिए । ‘वीपीका पदाधिकारीहरुसहित १२६ जनाले पहिलो दिन खोप लगाए, कसैलाई पनि साइड इफेक्ट देखिएन । हामीले खोप लगाएपछि आधा घण्टासम्म अब्जरवेसनमा राखेर हेर्यौं,’डा.वरालले भने ।
khop-dhrn14

यस्तै, धरानको अर्को खोप केन्द्र धरान १० स्थित विजयपुर हस्टिपलमा पहिलो दिन १०८ जनाले खोप लगाए । ती मध्ये ६७ जना महिला र ४१ जना पुरुष छन् । उनीहरु कसैलाई पनि कुनै असर वा स्वास्थ्य समस्या नदेखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धेरैलाई खोपले साइड इफेक्ट होला कि भन्ने डर भएको कारण पहिलो दिन कम संख्यामा मात्र खोप लगाउन मानिसहरु आएको उनले बताए । ‘पहिलो दिन अरुले लगाएको हेर्ने, र भोली आउने भनेर पर्खेर बसेको रहेछ । पछि थुप्रैले सम्पर्क गरे, भोली धेरै नै संख्या बढ्ने भएको छ,’मेहताले भने ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय मातहतको अस्पताल विकास महशाखा प्रमुख तथा जिल्ला स्वास्थ्य कार्यालय प्रमुखसमेत रहेका सागर प्रसाईका अनुसार इटहरीमा १० जना र इनरुवा थप २० जनाले कोभिसिल्ड खोप लगाएका छन् । पहिलो चरणमा सरकारले ३ दिने खोप अभियान चलाएको उनको भनाई छ । पहिलो चरणमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर उपचार, शव व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मीहरुलाई खोप दिइएको हो । भारत सरकारले नेपाल सरकारलाई १० लाख डोज कोभिसिल्ड उपलब्ध गराएपछि खोप अभियान आजदेखि देशव्यापी शुरु भएको हो । सरकारले पछि सर्वसाधारणहरुलाई पनि निःशुल्क खोप उपलब्ध गराउने जनाएको छ ।