धरान: धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरुवात भएको छ ।

धरानको वडा नं.२० मा छनौट भएका रोजगारदातालाई आवश्यक औजार सामग्री हस्तान्तरण गरेर कार्यक्रमको शुरुवात गरिएको हो । वडा नं २० मा १५ जनाले रोजगारी पाएका छन् । वडा नं २० मा ड्रेनको माटो सफा गर्ने योजनामा उनीहरुले काम गर्नेछन् । यो बर्ष धरानमा १ सय ५७ जनालाई एक सय दिनको लागि रोजगारी दिने बजेट प्राप्त भएको छ । उनीहरुले एक दिनको ५ सय १७ रुपैया पारिश्रमिक पाउनेछन् ।

वडा नं. २० का अध्यक्ष मणिराम राईले आफ्नो वडाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३१ जनाले फारम भरेको जानकारी दिए । ती मध्ये १५ जना छनौट भएको र उनीहरुले विष्णुपादुका सडक अन्र्तगत देवीगाउँदेखि भञ्ज्याङसम्मको ड्रेनको माटो फाल्ने काम गर्नुपर्ने अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार यो सडक करिब ४.६ किलोमिटर छ ।

मेयर तिलक राईले एक सय दिनको कामले रोजगार पाएकाहरुको गुजारा चल्ने बताए । ‘आफ्नै घरगाउँको नाला, ड्रेन खन्न दिएर रोजगारी दिने र समाजमा काम पनि देखिने गरि राज्यले यो कार्यक्रम ल्याएको हो,’मेयर राईले भने,‘गतवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत थोरै बजेट र ढिलो योजना आएकोले त्यति धेरै प्रभावकारी हुन सकेको थिएन । तर यस वर्ष धेरैले लाभान्वित हुने अपेक्षा गरेका छौं ।’

pm 1

रोजगार कार्यक्रम अन्तर्गतको काम शुरु भएपछि अब रोजगारदाताहरु राज्यको सुचीमा परेको मेयर राईले बताए । उनले सय दिन खटेर आफ्नो जिम्मेवारी, कर्तव्य र अधिकार पुरा गर्न आग्रह गरे । उपमेयर मञ्जु भण्डारी सुवेदीले स्वदेशभित्र रोजगारीका पर्याप्त अवसरहरुको सिर्जना गर्दै कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न आग्रह गरिन् । उनले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरेर स्वदेशमा नै रोजगार बनाउने लक्ष्य यो कार्यक्रमको भएको बताइन् ।

उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले उपमहानगर भरिका १५, १६ वटा आयोजनाहरु छनौट गरेको जानकारी दिए । ती योजनाहरुमा रोजगार कार्यक्रमका लागि छनौट भएकाहरुलाई रोजगारी दिने उनले बताए । यसपछि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छुट्टै बजेट आउने उपमहानगरले जनाएको छ । अहिलेको युवा कार्यक्रम १८ बर्ष नाघेको र ५९ बर्ष उमेर समुहको लागि मात्र हो ।

अर्को प्रधानमन्त्री रोजगारी कार्यक्रममा भने ५९ बर्ष नाघेकाहरुले पनि काम गर्न सक्नेछन् । त्यसमा पनि थप आयोजना छनौट गरेर रोजगार दिइने खतिवडाको भनाई छ । ‘अरु वडाहरुमा कतै ड्रेन सफा गर्नेछ, कतै खहरे खोला सरसफाई गर्नेछ । वडा नं ४ मा एउटा बाटोको ट्रयाक बनाउनेछ,’उनले भने । उपमहानगरले वडा २० मा खटिएका श्रमिकहरुलाई माटो फ्याल्ने ठेलागाडा २ थान (आवश्यक अनुसार थप्ने), बेल्चा ५ थान, सेफ्टी टोपी र एप्रोन हस्तान्तरण गरेका छन् ।